किन दिए ऊर्जा सचिव उपाध्यायले राजीनामा ?

Maitrinews

 

काठमाडौं । अवकास पाउन केही महिना मात्र बाँकी रहेका बेला ऊर्जा सचिव अनुपकुमार उपाध्यायले राजीनामा दिएका छन् । उनले आगामी फागुनमा अवकास पाउँदै थिए ।
उपाध्यायले विद्युत नियमन आयोगको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न सचिव पदबाट राजीनामा दिएको बुझिएको छ । सरकाले विद्युत नियमन आयोग गठन गर्न प्रक्रिया सुरु गरिसकेको छ ।
उपाध्याय लामो समयदेखि ऊर्जा मन्त्रालयमा सचिव थिए । लोडसेडिङ हटाउने अभियानमा तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँगै उनको पनि महत्वपूर्ण भूमिका थियो । उनी सञ्चालक समितिको अध्यक्षमा रुपमा रहेर प्राधिकरणलाई नाफामा लैजान र उचित तबरले व्यवस्थापन गर्न सफल भएका थिए ।
ऊर्जा क्षेत्रका जानकार सचिव उपाध्याय पहिलो पटक गठन हुन लागेको नियमन आयोगमा जान इच्छुक छन् ।
आयोग गठनका लागि ऊर्जा मन्त्रालयका अर्का सचिव सञ्जय शर्माको नेतृत्वमा समिति बनाइएको छ । समितिले कात्तिक ३० गते २१ दिनको समय सीमा राखेर आयोगमा अध्यक्षसहित ४ जना पदाधिकारीका लागि दरखास्त आह्वान गरेको छ ।

समग्र विद्युत क्षेत्रको नियनमनका लागि शक्तिशाली आयोग गठन गर्न खुला प्रतिस्पर्धा आह्वान गरिएको छ । आयोगमा नियुक्तिका लागि दरखास्त बुझाउने आज बिहीबार अन्तिम मिति हो ।

ऊर्जासचिव उपाध्यायको राजीनामा मन्त्रिपरिषदबाट पनि स्वीकृत भएको ऊर्जा मन्त्रालय स्रोतले बतायो । उपाध्यायसँगै अर्का पूर्व ऊर्जा सचिव सुमन शर्मा र विद्युत महसुल निर्धारण आयोगका पूर्वअध्यक्ष जगतकुमार भुसाललाई आयोगको अध्यक्षका सशक्त दावेदारका रुपमा हेरिएको छ ।