निगमले बोलपत्रविना नै वाइडबडी विमान खरिद गरेको खुलासा

 

काठमाडौँ । नेपाल वायुसेवा निगमले ‘बोलपत्र’ बिना नै दुइटा वाइडबडी विमान खरिद गरेको भेटिएको छ । सार्वजनिक खरिद ऐन २०६३ मा सामान किन्दा बोलपत्र आहवान गर्नैपर्ने प्रावधान छ ।निगमले वाइडबडी खरिदका लागि आहवान गरेको आशयपत्र रिक्वेट अफ प्रपोजल–आरएफपी बोलपत्रको परिभाषामा पर्दैन ।

ऐनको दफा २ को उपदफा ग मा मालसामानको परिभाषा छ । उक्त व्यवस्थामा मालसामान भन्नाले ‘चल, अचल अनि सजीव वा निर्जीव जुनसुकै किसिमको वस्तु सम्झनुपर्छ र सो चल वा अचल, शब्दले त्यस्तो वस्तु आपूर्ति गर्ने कार्यको सेवासमेतलाई जनाउने’ उल्लेख छ । सार्वजनिक खरिद अनुगमन कार्यालय स्रोतले भन्यो, ‘ऐनअनुसार विमानसमेत मालसामान नै हो ।’

ऐनको दफा ८ मा प्रतिस्पर्धाबाट वस्तु वा सेवा खरिद गर्दा दुई विधि अपनाउन सकिने व्यवस्था छ । त्यही दफाको उपदफामा मालसामान वा निर्माण कार्य गर्दा बोलपत्र आहवान गर्नुपर्ने व्यवस्था छ भने परामर्श सेवा लिँदा प्रतिस्पर्धात्मक रूपले प्रस्ताव आशयपत्र माग गर्ने वा वार्ता गर्न सकिने व्यवस्था छ ।

‘आशयपत्र आरएफपी मार्फत सामान खरिद गर्ने प्रक्रिया ऐनमा छैन,’ उक्त स्रोतले भन्यो, ‘मालसामानको परिभाषाभित्र विमानसमेत पर्ने भएकाले बोलपत्रबिना आशयपत्र जारी गरी खरिद सम्झौता गर्नु कानुनको उल्लंघन हो ।’ सार्वजनिक खरिद कानुनबारे जानकार पूर्वसचिव अवनिन्द्रकुमार श्रेष्ठका अनुसार परामर्श सेवाका लागि जरुरी पर्ने आशयपत्रबाट ‘सामान खरिद गर्नु’ कानुनकै उल्लंघन हो ।

‘विमान खरिदका क्रममा आशयपत्रको प्रयोग गरिनु गलत हो भनेर यसअघि पनि मैले फरक मत राखेको थिएँ,’ सार्वजनिक खरिद अनुगमन कार्यालयमा सचिव भइसकेका श्रेष्ठले भने, ‘निगमको विनियममा आशयपत्र भनी उल्लेख छ । ऐनले सामान खरिदमा बोलपत्र नै जारी गर्नुपर्ने भनेको छ । विनियममा छ भन्दैमा कानुन उल्लंघन गर्न मिल्दैन ।’

सार्वजनिक खरिद प्रक्रियाबारे जानकार कानुन मन्त्रालयका एक उपसचिवका अनुसार निगमले २६ सेप्टेम्बर २०१६ मा जारी गरेको आरएफपीमा अन्तर्राष्ट्रिय खुला बोलपत्रमा हुनुपर्ने विषयवस्तुसमेत छैन । ऐनको दफा १३ को उपदफा ९२० मा अन्तर्राष्ट्रियस्तरको बोलपत्रमा २३ वटा आधारभूत विषयवस्तु उल्लेख हुनुपर्ने व्यवस्था छ ।