निर्मला हत्याकाण्डमा ३४ प्रहरीमाथि कारबाही हुने

 

काठमाडौं । निर्मला पन्त हत्याकाण्डको अनुसन्धानमा संलग्न ३४ जना प्रहरीमाथि कारवाही हुने भएको छ । एआईजी धिरु बस्न्यात नेतृत्वको छानविन समितिले अनुसन्धानमा जोडिएका ३४ जना प्रहरीमाथि कारवाहीको सिफारिस गर्न लागेको हो ।

निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरी अधिकारीकै कमजोरी पाइएपछि प्रहरी प्रधान कार्यालयले एआईजी बस्न्यातको नेतृत्वमा आन्तरिक छानविन समिति गठन गरेको थियो । त्यही समितिले झण्डै ३ महिना लामो गृहकार्यपछि एक–दुई दिनभित्रै आईजीपी सर्वेन्द्र खनाललाई अध्ययन प्रतिवेदन बुुझाउने तयारी गरेको छ । ‘‘प्रतिवेदनमा प्रहरीकै भूमिकाबारे उल्लेख गरिएको छ । प्रहरी कहाँ–कहाँ चुक्यो भन्ने धेरै कुरा यसअघि नै गृहमन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनसँग मिल्छ,’’ स्रोतले भन्यो ।

प्रतिवेदनमा सबै प्रहरीको बयान समेटिएको छ । निर्मला हत्याकाण्डको अनुसन्धानमा जोडिएका कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्ट बर्खासीमा परेका छन् भने अन्य ६ जना प्रहरी निलम्बनमा छन् । बस्न्यात नेतृत्वको टोलीले प्रतिवेदनमा एसपी विष्टदेखि निलम्बनमा परेका सबै र बाँकी कारबाहीको सिफारिसमा पर्न लागेका २६ जनाको भूमिकाबारे उल्लेख गरेको छ । नेपाल प्रहरीको इतिहासमा एकैपटक एउटै घटनामा जोडेर ३४ जना प्रहरीमाथि कारवाही हुन लागेकोे यो पहिलो घटना हो । तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान व्युरोका डिएसपी अंगुर जिसी, असई हरसिंह धामी, प्रहरी जवान चाँदनी साउद, इन्सपेक्टर एकेन्द्र खड्का निलम्बनमा छन् ।

गत साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीलाई साउन १० गते नै निर्मला हराएको खबर दिँदा पनि प्रहरीले खोजीमा चासो देखाएको आरोप लागेको थियो । स्रोतका अनुसार अब थप बर्खासी र निलम्बनको सिफारिस गरिएको छैन । सबैलाई विभागीय कारबाहीको सिफारिस भएको छ । ‘‘कसूरको मात्रा हेरेर कारवाहीको सिफारिस भएको छ ।