काँग्रेसको महासमिति भेला काठमाडौँमा सुरु हुँदै, १४ सय प्रतिनिधि काठमाडौँमा

 

काठमाडौं । २०४६ सालपछि सातौं पटक शुक्रबारदेखि नेपाली कांग्रेस महासमितिको भेला काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन हुने वर्षलाई छाडेर हरेक वर्ष गर्नुपर्ने व्यवस्था भए पनि ६ वर्षपछि मात्र काठमाडौंमा भेला हुन लागेको हो ।
सिंहदरबारस्थित यलम्बर पार्टी प्यालेसमा शनिबार महासमिति भेलाको औपचारिक उद्घाटन हुनुअघि शुक्रबार पार्टी मुख्यालय सानेपामा दिउँसो २ देखि साँझ ५ बजेसम्म रजिस्ट्रेसन गराउनुपर्नेछ। रजिस्ट्रेसनको समय भने लम्बिन सक्ने मुख्यालय स्रोतले बताएको छ ।

झण्डै सवा दुई घण्टाको उद्घाटन सत्रपछि शनिबार दिउँसो नै बन्दसत्र सुरु हुने पार्टी प्रवक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बताएका छन् ।

अहिलेसम्म भेलामा पेश हुने पाँच मध्ये एउटामात्रै प्रतिवेदन केन्द्रीय समिति बैठकले पारित गरेको छ । चार वटा मुख्य प्रतिवेदन पारित गर्न शुक्रबार दिउँसो २ बजे केन्द्रीय समितिको बैठक बस्दैछ ।

यही बैठकले जसरी पनि प्रतिवेदन पारित गर्ने दावी नेताहरुले गरेका छन् । महासमितिमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, महामन्त्री शशांक कोइरालाले संगठनसम्बन्धी, अर्का महामन्त्री तथा विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले पार्टीको नयाँ विधान मस्यौदा प्रतिवेदन, सहमहामन्त्री प्रकाशशरण महतले पार्टीको आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले कोष तथा लेखासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
प्रतिवेदनमाथि पुस १ गतेदेखि छलफल हुनेछ । अहिलेसम्म आर्थिक प्रतिवेदनमात्र केन्द्रीय समितिबाट पारित भएको छ । महासमितिका लागि देश र विदेशबाट गरी १४ सय भन्दा बढी प्रतिनिधि काठमाडौं आइसकेका छन् ।