बाढीले बगाएर भारत पुगेका गैँडा नेपाल ल्याइयो
चितवन । विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ । गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पुर्याएको करीब १५र२० वर्षको पोथी गैँडालाई गए राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो ।
यसअघि बाढीले बगाएका १० गैँडालाई राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जको संयुक्त टोलीले उद्धार गरेर घर फर्काएको थियो । केही गैँडा भारतको तल्लोभागमा पुगेकाले उद्धार गर्न सकिएको थिएन । यसपालि एउटा गैँडा नेपाली भूमिमा आएपछि भने उद्धार गर्न सफल भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल बताउनुहुन्छ । अझै दुई गैँडा भारतमा रहेको निकुञ्जको भनाइ छ ।
उद्धार गरिएको उक्त गैँडालाई राति करीब ११ बजे चितवन निकुञ्जको तमोरताल नजिकै ल्याएर छाडिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जका वन्यजन्तु प्राविधिक तथा पशु चिकित्सकसहित ३० भन्दा बढी संरक्षणकर्मी उद्धारमा खटिएका थिए । उद्धारमा तीन हात्तीको प्रयोग गरिएको थियो ।
सुस्तावासीले गैँडा उद्धारमा ठूलो सहयोग गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल बताउनुभयो । शनिबार सुस्ताको उखुबारीमा आइपुगेको गैँडालाई स्थानीयवासीले ट्याक्टर तेस्र्याइ रातभर जाग्राम बसेर छेकेका थिए । आइतबार वन्यजन्तु प्राविधिक टोलीले गैँडालाई डार्ट गरेर ९बन्दुकबाट औषधि पठाई लठ्याएर० नियन्त्रणमा लिइएको थियो । “रातभर जाग्राम बसेर सुस्तावासीले गैँडालाई रेखदेख गर्नुभयो, यो प्रशंसनीय कार्य हो”, अर्यालले भन्नुभयो ।