पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ गिरीको निधन

 

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा। तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ ।

आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो ।
राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।
कलेजोमा क्यान्सर रोग लागेका उहाँ यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना हुुनुभएको थियो । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उहाँको निधन भएको हो ।

राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रुपमा चिनिनुभयो । महेन्द्रलाई साथ दिएका गिरी राजा वीरेन्द्रले ३६ सालमा जनमत संग्रह घोषणा गर्दा वैचारिक असहमति जनाउँदै श्रीलंकातिर लाग्नुभएको थियो ।
०६१ सालमा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उहाँ पुनः नेपाल फर्केर मन्त्रिपरिषदको उपाध्यक्ष बनेर ज्ञानेन्द्रलाई साथ दिनुभयो । राजतन्त्र ढलेपछि भने उहाँ नेपालमै बस्नुभयो । बरिष्ठ राजनीतिज्ञ गिरी आफ्नो जीवनकालभरि अविचलितरुपमा राजतन्त्रका पक्षधर रहनुभयो। गिरीका श्रीमती, २ छोरा र २ छोरी हुनुहुन्छ ।