परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्री पोम्पेओबीच महत्वपूर्ण वार्ता हुँदै

 

काठमाडौँ । नेपाल र अमेरिकाका दुई विदेशमन्त्री प्रदीप ज्ञवाली र माइक पोम्पेओबीच वाशिङ्टनमा हुन लागेको बैठकले दुई पक्षीय सम्बन्धको एउटा नयाँ अध्याय शुरू गर्ने रूपमा हेरिएको छ।

यो बैठकले के अब नेपालले अमेरिकासँगको दुईपक्षीय सम्बन्ध भारतको छाया विना नै मजबुत गर्न चाहेको भन्ने सङ्केत हो ?

अमेरिकाले नेपाललाई भारतीय दृष्टिकोणबाट हेर्छ भन्ने व्यापक रूपमा बुझिदै आएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले पनि विदेश जानुअघि नेपालप्रतिको दृष्टिकोण स्वतन्त्र राख्न अमेरिकालाई आह्वान गर्नुभएको थियो ।

दुई विदेशमन्त्रीबीच हुने भनिएको महत्त्वपूर्ण बैठकको एक दिनअघि सामाजिक सञ्जाल ट्विटरमार्फत् अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एशिया मामिला हेर्ने निकायले विदेशमन्त्री पोम्पे‌ओले नेपालका परराष्ट्रमन्त्रीलाई स्वागत गर्न पर्खिरहेको उल्लेख गरेको छ।

नेपाल र अमेरिकाबीच ७१ वर्षयता मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहनुका साथै नागरिक एवम् आर्थिक तहमा बृहत् सम्बन्ध रहेको पनि जनाएको छ।

हालैका वर्षहरूमा आफ्नो परम्परागत प्रभुत्व कायम राख्न प्रयासरत भारत र तीव्र रूपमा प्रभाव विस्तार गरिरहेको चीनबीच नेपालमा प्रतिस्पर्धा बढी रहेको धेरैले ठान्दै आएका बेला यो भ्रमण भएको हो।