गौतमप्रति लक्षित गर्दै मुख्यमन्त्री राईले भन्नुभयो– ‘बैठकमा अशोभनिय काम नगर्नूहोस्’

Mohan Bastola

काठमाडौँ । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को काँधमा ऐतिहासिक जिम्मेवारी आएको भन्दै त्यसलाई सबैले मिलेर पूरा गर्नुपर्ने बताउनुभएको छ । उहाँले संघ, प्रदेश र स्थानीय तहमा बहुमत रहेको भन्दै मुलुकको अविभारा पूरा गर्ने जिम्मेवारी पनि अहिले नेकपाकै पार्टीको काँधमा आएको प्रष्ट पार्नुभयो । उहाँले अहिले एकता प्रत्रियामा केही ढिलाई भएको स्मरण गर्दै त्यसलाई हल गरेर अघि बढ्नुपर्छ पनि भन्नुभयो ।  जारी स्थायी कमिटी बैठकमा नेता वामदेव गौतमलगायत अन्य केही नेताले गरेको प्रस्तुतिप्रति उहाँले लक्षित गर्दै भन्नुभयो– ‘स्थायी कमिटीमा व्यक्त भएका विचार बाहिर आएका छन् । ती नेपाल कम्युनिष्ट पार्टीका लागि सोभनिय होइनन्, छैनन् ।’

उहाँले केही ठूला नेताबाटै जुन खालका कुष्ठाहरु जुन खालका महात्वकांक्षाहरु बाहिर आएका छन् ती अभिव्यक्तिले पार्टीलाई असल बाटोतिर नलैजाने पनि दाबी गर्नुभयो । ‘त्यसले समाजलाई, पार्टीलाई र आम जनतालाई सकारात्मक सन्देश दिदैन । त्यसैले बैठकलाई बैठक जस्तो बनाएर पार्टी समायोजनको कामलाई कुशल ढंगले अघि बढाउनुपर्छ,’ रेडियो नेपालको कार्यक्रम घटना र विचारमा कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘बैचारिक जगमा उभिँएर सांगठनिक कामलाई पनि अघि बढाउनुपर्छ । अहिले नेताहरुको ध्यान पनि त्यतैतिर जानु पर्छ । तर, अहिले केही नेताको ध्यान व्यत्तिगत महत्वकांक्षा र कुष्ठामा केन्द्रित भएको छ । यसरी बैठक लम्याउने र सरकारलाई अप्ठ्यारोमा पार्ने, पार्टीलाई अप्ठ्यारो पार्ने काम सोभनिय छैनन् ।’