प्रदेश स्वायत्त राज्यको मान्यता अनुरूप चल्नुपर्छ– सहअध्यक्ष श्रेष्ठ

maitrinews

कैलाली । ससफो नेपाल सुदुरपश्चिम प्रदेशको आयोजनामा दुई दिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम कैलालीको अत्तरियामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि पुर्वमन्त्री एवम् पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले उदघाटन गरेको उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूबाट उत्साहका साथ कार्यकर्ताहरू सहभागी भएका थिए ।
उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले नेपालको सङ्घीयता दक्षप्रजापतिको टाउको जस्तो भएको बताउँदै एकात्मक शरीरमा सङ्घीयताको टाउको मात्र झुण्ड्याएको बताए । प्रदेश नम्बर ७ को नाम सुदुरपश्चिम राख्नुले राजा महेन्द्रको उतराधिकारीको झझल्को दिएको भन्दै उनले सुदुरपश्चिमको नामाकरण शासनसत्ता केन्द्रमै राख्ने सोचको उपज भएको बताए । उनले भने, ‘यस नामले सङ्घीयतामा पनि राजकीय सत्ता र शासनाधिकार सिंहदरवारमा मात्र छ, केन्द्र काठमाडौँ नै हो, यो शासनको केन्द्रबाट टाढा छ भन्ने मनस्थितिलाई दर्शाएको छ ।’
सङ्घीय समाजवाद र यसको विशेषताका बारेमा प्रशिक्षण दिंदै उनले साँचो सङ्घीयतामा केन्द्र सबै जाति, भाषा, धर्म र संस्कृतिको साझा प्रतिविम्ब र प्रदेश स्वायत्त राज्यको मान्यता अनुरूप चल्नुपर्ने बताए । उनले ससफो नेपाल पुँजीवादी सङ्घीयताको पक्षमा नभई समाजवादी सङ्घीयताको पक्षमार रहेको कुरा पनि स्पष्ट पारे ।
प्रदेश इन्चार्ज दान बहादुर विश्वकर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रम बासमती राजिले सञ्चालन तथा बासुदेव रानाथारुले स्वागत गरेका थिए । पार्टीका उपाध्यक्ष हेमराज राई र युवराज कार्कीले पनि प्रशिक्षण दिएको उक्त अभिमुखीकरणमा प्रदेश सहईन्चार्ज हेमन्त माण्डव्य, केन्द्रीय सदस्य भीमवहादुर थापा, बैकल्पीक केन्द्रीय सदस्य द्वय जगत भण्डारी र मान बहादुर थापाको पनि उपस्थित रहेको थियो ।