आफ्नो पहिचानमा गर्व गर्नेहरूले अरुको पहिचानमाथि धावा बोल्नु हुँदैन —सहअध्यक्ष श्रेष्ठ

Maitrinews

पोखरा । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले कुनै पनि ठाउँको ऐतिहासिक पहिचान मानव भूगोलको आधारमा स्थापित हुने बताएका छन् । उनले कुनै दैवीशक्ति उत्पन्न भएर गुरुङहरूलाई गण्डकी नदीको माथिल्लो प्रसवन क्षेत्रमा र मगरहरूलाई तल्लो क्षेत्रका बसाएको नभई त्यहाँ बसेका सबै जनताको साझा भाषा, संस्कृति, आर्थिक जीवन र मनोभावनाले तिनीहरूको आफ्नो पहिचान स्थापित गरेको बताए ।
ससफो तमुवानमगरात प्रदेशको आयोजनामा भएको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले अरुको पहिचानलाई अस्विकार गर्ने व्यक्तिहरू जतिसुकै ठूलो सङ्घर्ष गरेर आएका भए पनि तिनीहरू सच्चा सङ्घवादी हुन नसक्ने भन्दै आफ्नो पहिचानमा गर्व गर्नेहरूले अरुको पहिचानमाथि धावा बोल्नु महाभूल हुने बताए ।
सहअध्यक्ष श्रेष्ठले भने, ‘निर्वाचनको बेला बहुपहिचानको नारा दिई तमुवान(मगरात प्रदेश भनेर मत माग्ने ४ नम्बर प्रदेशका नेकपा नेताहरूले गण्डकी नाम राखेर आफ्नो मतदातालाई विश्वासघात गरे ।’ उनले भने ‘ससफोले गण्डकी नदीको पहिचान खोजेको नभई गण्डक क्षेत्रको माथिल्लो भेगमा रहेका जनताको पहिचान तमुवान र तल्लो भेगका जनताको पहिचान मगरात खोजेको हो ।’
नेता श्रेष्ठले बर्तमान प्रशासनिक संरचनालाई संविधान संशोधनको माध्यमबाट पहिचानमा आधारित १० जोड १ को संरचनामा जाने बाटो खोल्नकै लागि ससफो नेपाल सरकारमा गएको बताउँदै भने, ‘यो काम गर्न नसके सरकारमा जानुको औचित्यतामाथि प्रश्न उठ्छ ।’
ससफो तमुवान(मगरात प्रदेशका अध्यक्ष दीपक वाइबाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्यहरू महेन्द्र थापा, राजन केसी र डि।बि। नेपालीले पनि सामसामयिक विषयमा आफ्नो मन्तब्य राखेका थिए । यस कार्यक्रमको सञ्चालन समितिका मुख्य सचिव हेमन्त थापा र स्वागत छबिलाल रानाले गरेका थिए ।