आन्दोलनका उपलब्धि संरक्षण गर्न पार्टी सरकारमा गएको हो—अध्यक्ष यादव

Maitrinews

काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नम्बर ३ नेवाः ताम्सालिङको महाधिवेशन सम्बन्धी दुईदिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम यहि पुस ९ र १० गते खुसिबुँस्थित नेपा ब्यान्क्वेटमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो ।
प्रदेश नम्बर ३ का अध्यक्ष लालवहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले भने, ‘आदिवासी जनजाति, मधेसी र उत्पीडित समुदायले विभिन्न राजनीतिक आन्दोलनबाट प्राप्त गरेका उपलब्धिहरूको संरक्षण गर्ने उद्देश्यले नै हाम्रो पार्टी सरकारमा गएको हो । उपयुक्त स्थितिमा हाम्रा माग र मुद्दाहरू सम्बोधन गर्ने सर्तमा सरकारमा हाम्रो सहभागिता भएको हो ।’ उनले भने, ‘हाम्रो पार्टीको नेतृत्वमा भएको आन्दोलनले नै हामीले उठाएका मुद्दाहरू पहिचानसहितको सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र संस्थागत भएको छ । कांग्रेस र कम्युनिस्टले यी मुद्दाहरू जबरजस्ती बोक्नु परेको छ । संविधानमा सङ्घीयता संस्थागत भइसक्दा पनि सङ्घीयतालाई समाप्त पार्ने र सङ्घीयतालाई संरक्षण गर्ने बीचको सङ्घर्ष अहिले पनि जारी छ । ’
सरकारका उपप्रधानमन्त्री समेत रहेका यादलले भने, ‘यो संविधानमा हाम्रो असहमति राज्यको पुनसंरचनामा हो । पहिचानको आधारमा राज्यको पुनसंरचना समावेशी राज्यसत्ता हाम्रो लड़ाईं हो र प्राप्त नभएसम्म हाम्रो लड़ाईं जारी रहने छ । संविधान संशोधन गर्न दुई तिहाई मत आवश्यक हुने र हाम्रो सहभागिताले दुई तिहाई पुग्ने भएकोले सरकारमा हाम्रो सहभागिता अपरिहार्य भयो ।’
कांग्रेस र कम्युनिस्टले नेपाल र नेपालीको मुहार फेर्न सक्दैन । उनीहरूले सक्ने भए पहिल्यै भइसक्थे । अब नेपाललाई समृद्धशाली बनाउने जिम्मेवारी हाम्रै हो । उनले भने ‘मागेर खाने सरकार भएसम्म देशमा समाजवाद आउँदैन र नेपालको वेरोजगारी समस्या पनि हल गर्न सक्दैन ।’ उनले भने, ‘पार्टी शक्तिशाली नभएसम्म आदिवासी, मधेसी लगायत उत्पीडित समुदायले उठाएको मुद्दाहरूको सम्बोधन नहुने भएकाले विशाल छाती लिएर पार्टी संगठन बिस्तार गर्नु पर्छ, पार्टीलाई शक्तिशाली बनाउनु पर्छ । त्यसका लागि नीति, विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण पनि गर्नु पर्छ । यसका लागि नै हामीले कार्यदल बनाएका छौं ।’
कार्यक्रममा पार्टी महाधिवेशनको ऐतिहासिक महत्व तथा पार्टीको कार्यभारबारे बाल्दै वरिष्ठ नेता अशोक राईले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता कोदो र तोरीको मिश्रण जस्तै हो । यसबाट न त तेल निस्किन्छ न त रोटी बनाएर खान नै मिल्छ भन्दै अबको बैकल्पिक राजनीतिक शाक्ति भनेकै सङ्घीय समाजवादी फोरम, नेपाल हो भने ।
उनले भने, ‘महाधिवेशनकोे मिति घोषणा भइसकेको अवस्थामा घोषित कार्यतालिका कार्यान्वयन गर्न सबै नलागेमा महाधिवेशन सम्पन्न गर्न गाह्रो हुन्छ । त्यसैले पार्टीको प्रदेश समितिले स्थानीय तहको अधिवेशन सम्पन्न गर्न विशेष योजना बनाउनु पर्छ ।’ उनले ‘हामी धेरै बिचार र स्कूललिङबाट आएका छौ । हामी बीचमा बिचार, विश्लेषण र कार्यशैलीमा एकरूपता आउनु पर्छ । पार्टीलाई पद्धतिसंगत ढंगले चलाउनु पर्छ’ भने ।
त्यसरी नै पार्टीका अर्का नेता सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले सङ्घीय समाजवाद र यसका विशेषताहरूबारे बोल्दै नेपाल जस्तो वहुसाँस्कृतिक मुलुकमा राष्ट्रिय एकताको मूल आधार नै पहिचानसहितको सङ्घीयता भएको कुरामा जोड दिए । उनले भने, ‘यदि बहुराष्ट्रियतालाई समेट्न नसक्ने हो भने समृद्धि–समृद्धि मात्रै भनेर समृद्धि आउदैन र आइहाले पनि क्याटालोनिया, स्कटल्याण्ड र क्युबेकमा जस्तो विद्रोह हुने खतरा रहन्छ ।’
श्रेष्ठले सङ्घीय समाजवादका ९ वटा विशेषताहरूको चर्चा गर्दै भने, ‘जातीय राज्यको विकल्पमा जन्मेको राज्य नै सङ्घीय राज्य हो । शासनमा सबै जातिको साझेदारी भएको राज्य व्यवस्था हामीले चाहेका हौँ । सङ्घीय शासन व्यवस्थाले मात्रै नेपाली समाजको बहुराष्ट्रियतालाई समेट्दछ ।’ उनले थप स्पष्ट पार्दै भने, ‘सङ्घीय शासन व्यवस्थासँग जोडिएको मूल विषय पहिचान हो र पहिचानको कुरा गर्दा आर्जित पहिचान हैन जन्मसिद्ध पहिचान मुख्य हो ।’ उनले सङ्घीयतासहितको समाजवाद माथिबाट लादिएको नभई तलबाटै उठेको, व्यक्तिको निजत्व कुण्ठित गर्ने नभई व्यक्तिको निजत्व प्रष्फुटित गर्ने तथा नोकरशाही प्रकृतिको नभई समावेशी र लोकतान्त्रिक प्रकृतिको हुनु पर्ने कुरा पनि स्पष्ट पारे ।
ससफो, नेपालका केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेश इन्चार्ज आङ्देण्दी शेर्पाले स्वागत तथा ३ नम्बर प्रदेश सहइन्चार्ज कृष्णबहादुर घजुले सञ्चालन कार्यक्रममा पार्टीका उपाध्यक्ष रकम चेमजोङले पहिचानको आन्दोलनको चर्चा गर्दै दश जोड एकको सङ्घीय संरचना स्थापित गर्न पहिचान पक्षधर शक्तिहरूले एकजुट भएर अगाडी बढ्नु पर्ने बताए । त्यसरी नै अर्का उपाध्यक्ष हेमराज राईले पार्टीमा समिति प्रणाली र विधानमा भएको व्यवस्थालाई कडाइका साथ पालना गर्नुपर्ने बताए ।
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का एक दर्जनभन्दा बढी नेता कार्यकर्ता प्रवेश गरेको उक्त कार्यक्रमको अन्त्यमा ३ नम्बर प्रदेशभित्रका जिल्लाका नेताहरूले अधिवेशन सम्बन्धी पार्टी केन्द्रका योजनाहरू कार्यान्वयन गर्ने सम्बन्धमा आआफ्नो योजना समेत प्रस्तुत गरेका थिए ।