सौराहामा १५ औं हात्ती महोत्सव सुरु

Maitrinews

 

चितवन । चितवनको पर्यटकीय केन्द्र सौराहामा हरेक वर्ष हात्ती महोत्सव आयोजना गर्ने गरिन्छ । त्यसको १५ औं संस्करण चितवनको सौराहामा आजबाट सुरु भएको छ ।

‘फिस्टे’ मानिस र अजंगको हात्तीसँग जोडेर आयोजना गरिएको महोत्सव पृथक छ । सौराहालाई हात्तीको राजधानीसमेत भन्ने गरिन्छ । पुस ११ गते १५ गतेसम्म ५ दिनसम्म सौराहाको बाघमारा चौरमा हुने हात्ती महोत्सवको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको छ । उहाँको स्वागतका लागि सौराहालाई ‘दुलही’ जस्तैं सिगारिएको छ ।

नेपाली सेनाको सुरक्षा दस्ता तीन दिन अघिदेखि नै सौराहा क्षेत्रमा खटिएको छ । सुरक्षा व्यवस्था मजबुत छ । राष्ट्रपति भण्डारी आज सौराहामा नै बस्ने कार्यक्रम छ । सौराहामा हात्ती महोत्सव हरेक वर्ष यही समयमा आयोजना हुँदै आएको छ ।

‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ हुने १५ औं संस्करणको हात्ती महोत्सवको मूल उद्देश्य सौराहाको आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित र वृद्धि गर्ने रहेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताउनुभयो । अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसर पारेर विदेशी पर्यटकहरु स्वदेश फर्कने भएकाले उनीहरुलाई सौराहामा नै रोक्नका लागि हात्ती महोत्सव गर्ने गरिएको हो ।