टुक्रिसकेको स्विट्जरल्यान्डलाई सङ्घीयता, समानुपातिकता र समावेशिताले जोडेको हो — सहअध्यक्ष श्रेष्ठ

Maitrinews

काठमाडौँ । सङ्घीय समाजवादी फोरम, नेपाल काठमाडौँ महानगरपालिका वडा नं ४ को प्रथम वडा अधिवेशन अध्यक्ष श्री छक बहादुर राईको अध्यक्षतामा सम्पन भयो । प्रमुख अतिथि पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले उद्घाटन गरेको उक्त अधिवेशनले पुनः छक बहादुर राईकै अध्यक्षतामा ९ सदस्यीय वडा समिति गठन भएको कुरा पार्टीका महानगरपालिका अध्यक्ष मंगल रत्न ताम्राकारले जानकारी दिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले जग बलियो भए घर बलियो हुन्छ । पार्टीको जग भनेको संगठन नै हो । पार्टीले स्वस्फुर्ततामा नभई संगठनकै बलमा आन्दोलन र निर्वाचनमा विजय हासील गर्न सक्ने शक्ति निर्माण गर्न सक्छ भन्दै उनले टोल टोलमा संगठन बनाउनुपर्ने कुरा बताए ।
श्रेष्ठले सन् १८४७ मा जातीय आधारमा टुक्रि सकेको स्विट्जरल्यान्डलाई सङ्घीयता, समानुपातिकता र समावेशिताले जोडेको उदाहरण दिंदै भने, ‘आज स्विट्जरल्यान्ड संसारमै जातीय साझेदारी भएको शान्तिप्रीय मुलुक बनेको छ । हाम्रो देशमा पनि स्थायी शान्ति र समृद्धिका लागि केन्द्रमा सङ्घीय शासन र प्रदेशहरूमा स्वशासन आवश्यक छ ।’ पहिचानको आन्दोलनको चर्चा गर्दै उनले भने, ‘पहिचान सहितको सङ्घीयता भएकाले भारतमा गुजरातीले विहारमा र विहारीले गुजरातमा शासन गर्दैन । नेपालमा पनि शान्ति र समृद्धिका लागि पहिचानसहितको सङ्घीय शासन आावश्यक छ ।’
नेता श्रेष्ठले देशमा भोक, रोग, गरिवी, अभाव र बेरोजगारीको अन्त्य तथा समतामुलक समृद्धिका लागि भने सङ्घीयताले मात्र नहुने भन्दै त्यसका लागि समाजवादको बाटो अबलम्बन गर्नु पर्ने बताए । उनले भने, ‘त्यसैका लागि नै ससफो नेपालले सङ्घीय समाजवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाएको हो ।ु
अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव ध्यान बहादुर राईले वडा समिति नै संगठनको जग भएकाले यसलाई बलियो बनाउन सके मात्र पार्टी बलियो हुने भन्दै अधिवेशनको सफलताको कामना गरे । त्यसरी नै पार्टी केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेशका अध्यक्ष लाल बहादुर तामाङले नयाँ बन्ने समितिले पार्टीको नीति, सिद्धान्त र विचारको आधारमा संगठनलाई अगाडी बढाउनुपर्ने बताए ।
अधिवेशनमा पार्टीको केन्द्रीय अनुशासन समिति सदस्य दिपक राई, जिल्ला समिति सदस्य शंकर लिम्बू तथा पार्टी जिल्ला सदस्य एवम् महानगर समिति अध्यक्ष श्री मंगल रत्न ताम्राकारले पनि शुभकामना मन्तब्य दिएका थिए ।