सेमेस्टर वार्षिक प्रणालीजस्तै भएपछि विद्यार्थी आक्रोशित, विद्यार्थीको भविष्यमाथि खेलवाड

काठमाडौं । एउटा सेमेस्टर कम्तीमा ६ महिनामा सकिनुपर्नेमा वार्षिक प्रणालीजस्तै हुनथालेपछि विद्यार्थीहरु आक्रोशित भएका छन् । विश्वविद्यालयले आफ्नो भविष्यसँग नै खेलवाड गरेको उनीहरुको आरोप छ ।

त्रिभुवन विश्वविद्यालय मानविकी संकाय अर्थशास्त्र तेस्रो सेमेष्टरका छात्र भुवन जोशी भन्छन्,“ २०७३ सालको फागुन महिनातिर स्नातकोत्तरमा भर्ना भएका थियौं । तर, २०७५ को पुस महिनासम्म हाम्रो तेस्रो समेष्टरकोसमेत परीक्षा हुन सकेको छैन ।”

बम बम बम
अझै एक सेमेष्टर पढ्न र अन्तिम नतिजा आउन बाँकी नै रहेको बताउँदै उनले भने,“ २ वर्षे स्नातकोत्तरलाई नतिजा आउन तीन वर्ष र अझ थेसिस गर्दा साढे तीन वर्ष नै लाग्छ । हामी ‘करिअर ओरियन्टेड’ भएर आएको मान्छे, दुई वर्षमा कोर्श सकेर काममा लागिहाल्नु पर्छ । तर पढाई र नतिजा प्रकाशनमा ढिलाइले गर्दा हाम्रो जीवनमा नै खेलवाड भइरहेको छ ।”

त्रिभुवन विश्वविद्यालय पत्रकारिता केन्द्रीय विभाग तेस्रो सेमेष्टरकी छात्रा सोनी थापाले सेमेष्टर प्रणाली भने पनि समयमा न परीक्षा न त नतिजाको अवस्था रहेको बताइन् । २०७३ चैतमा प्रथम सेमेस्टरमा भर्ना लिएको बताउँदै उनले असार–साउनमा हुनुपर्ने परीक्षा भने २०७४ सालको माघमा गएर बल्ल भएको बताइन् ।

उनले प्रथम सेमेस्टरको परीक्षा र नतिजा एकदमै ढिलो आएको बताउँदै भनिन्,“यही पुस २५ गतेसम्म तेस्रो सेमेस्टरको परीक्षा फारम भर्ने सूचना प्रकाशित भइसक्दासम्म दोस्रो सेमेस्टरको नतिजाको अत्तोपत्तो छैन ।” उनले भर्खरै तेस्रो सेमेस्टरको आन्तरिक प्रि–बोर्ड परीक्षा दिंदासम्म नतिजा नै आइनसकेको बताइन् ।

अवसर गुम्ने चिन्ता
अर्थशास्त्रका छात्र भुवन जोशीका अनुसार चैत महिनाबाट पहिलो सेमेस्टरको पढाइ सुरु भएर परीक्षा भने २०७४ पुसमा भएको थियो । उनले नतिजा प्रकाशन र परीक्षा एकदमै ढिला र अनियमित भइरहेको बताउँदै भने, “पढाइपनि नियमित तरिकाबाट भएको छैन, प्राध्यापकहरु समयमा नआउने । त्यस्तै सेमेस्टर अनुसन्धान र प्रयोगात्मकमा आधारित भनेपनि कामचलाउ अनुसन्धान हुने तथा फिल्डमा जाने भन्दापनि सैद्धान्तिक नै बढी हुने गरेको छ ।”

उनले आक्रोेश पोख्दै भने, “हामीसँग भर्ना भएका व्यवस्थापन संकायका विद्यार्थीको दोस्रो सेमेष्टरको नतिजा पनि आइसक्यो र तेस्रो सेमेष्टरको परीक्षा तालिका पनि आइसक्यो । अर्थशास्त्रका विद्यार्थीले पनि व्यवस्थापन सरहकै काम पाउँछौं । तर, हामीभन्दा उनीहरु ६ महिना वा एक वर्ष अगाडि निस्के भने उनीहरुले हाम्रो ठाउँ ओगट्ने भए र हामी पछि पर्ने अवस्था हुने भयो ।”

पत्रकारिता तेस्रो सेमेस्टरका अर्का विद्यार्थी अंगद सिंहले वार्षिक प्रणालीको अन्तिम परीक्षा हुन अब केही समयमात्रै बाँकी रहेपनि उनीहरुकोे भर्खर तेस्रो सेमेस्टरको परीक्षा अनिश्चित भएको जनाए । उनले सेमेस्टरको नतिजा अगाडि हुनु पर्नेमा वार्षिक प्रणालीको अन्तिम नतिजा अगाडि हुने देखिएको बताए ।

सेमेष्टर व्यवस्थित हुन नसक्दा आफूहरुको समय त्यत्तिकै बर्बाद भएको बताउँदै उनले भने, “सेमेष्टरको नतिजा ढिलाइले गर्दा हामी अबसरबाट बंचित हुन्छौं ।”

दुई वर्षे सेमेस्टर कोर्ष सक्न साढे तीन वर्ष
त्रिविका छात्र जोशी भन्छन्,“ अर्थशास्त्रको तेस्रो समेस्टरको परीक्षा फाराम खुलिसक्यो तर डीन कार्यालयले बल्ल अब ‘इन्टर्नल’ परीक्षा लिने भनेको छ । त्यो परीक्षा सकिएको १ महिना विदा अनि फागुन पहिलो सातामा पनि परीक्षा लिन सम्भव छैन ।” उनले भने, “हाम्रो पढाइ १५ प्रतिशतपनि सकिएको छैन । त्यसैले चैतभन्दा पहिले हाम्रो तेस्रो सेमेस्टरको परीक्षा होला जस्तो लाग्दैन ।”

उनले वार्षिकभन्दापनि सेमेस्टर प्रणाली पछाडि परिसकेको बताउँदै भने, “२०७३ सालको चैतमा मैले पहिलो सेमेस्टरको परीक्षा दिएको २०७५ को चैतमा तेस्रो सेमेस्टरको दिइरहेका छौं । एउटा सेमेस्टर त्यसै बाँकी छ र थेसिस तीन महिनामा सक्नुपर्ने नियम हो । चार सेमेस्टर सक्न साढे तीन वर्ष ठ्याक्कै जाने अवस्था छ ।”

यस विषयमा त्रिवि योजना निर्देशनालयका प्रमुख प्रा डा। ऋदिशकुमार पोखरेलले सेमेस्टरमा समस्या अहिले पनि रहेको स्वीकार गर्दै भने, “हामीले क्यालेण्डरलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिरहेका छैनौं, परीक्षा अलिकति लम्बिइ रहेको छ ।

उनले ६ सेमेस्टर ६ महिनामा पनि सकिएन भनेर गुनासो आइरहेको बताउँदै भने,“ विज्ञान तथा व्यवस्थापन विषयमा सेमेस्टर एकदमै राम्रो पनि भइरहेको छ तर अलिकति समस्या भनेको मानविकी र शिक्षा लगायतका संकायमा रहेको छ ।”

उनले वार्षिक प्रणालीभन्दा सेमेस्टर प्रणालीले गर्दा उत्तीर्ण प्रतिशत बढेको जानकारी दिए । उनले समग्रमा वार्षिक २० प्रतिशतले उत्तीर्ण प्रतिशत बढेको बताउँदै भने, “अहिले सेमेस्टरमा कुनै विषयमा ९० प्रतिशत भए पनि समग्रमा भन्नु पर्दा ७० प्रतिशतभन्दा नतिजा माथि आइसकेको छ ।”

त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेती भन्छन्, “सेमेष्टर लागु भएपछि अलिकति समस्या भएको थियो तर अहिले खासै समस्या छैन । हामीले वार्षिक क्यालेण्डर प्रभावकारी रुपमा लागु गर्न नसकिरहेकोले परीक्षा सञ्चालनमा केही समस्या भइरहेको छ ।”

उनले सेमेष्टर लागू भएपछि नियमितता पनि बढेको बताउँदै भने, “अहिले दैनिक रुपमै नियमित कक्षा सञ्चालन हुँदै आएको छ ।”

उनले विद्यार्थी संख्या पनि राम्रो भएको बताए । सेमेस्टर प्रणालीले परीक्षा सञ्चालन र नतिजा प्रकाशनमासमेत सुधार आएको त्रिविका रजिष्ट्रार उप्रेतीले जानकारी दिए । उनले वार्षिक प्रणालीमा औषत ३५ देखि ४० प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण हुने गरेकोमा सेमेस्टर प्रणाली अन्तर्गत ६० प्रतिशतभन्दा माथि नतिजा आउन थालेको जानकारी दिए ।

त्रिवि मानविकी संकायका डीन शिवलाल भुसाल भन्छन्,“ सेमेस्टर प्रणाली लागु गर्दा केही समस्याहरु रहेपनि अहिले त्यति धेरै नभएको र परीक्षा तथा नतिजालाई समया ल्याउन वार्षिक क्यालेन्डरलाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउने प्रयासमा छौं ।”

कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पसबाट वि। सं।२०७०र०७१ बाट शुरुभई त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरका क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठनमा सेमेस्टर प्रणाली लागु भएको हो । शैक्षिक सत्र २०७५ देखि देशभर स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागु भएको हो ।