शून्य डिग्री तापक्रमबाट राष्ट्रपतिको उद्घोष– ‘जलबायु परिवर्तनले गरेको असर न्युनिकरणकम सबै लाग्नपर्छ’

Mohan Bastola

सिन्धुपाल्चोक । काठमाडौँको मात्र होइन, काठमाडौँसँगै सिमाना जोडिएको सिन्धुपाल्चोकको पनि सोमबारको तामप्रक्रम शून्य डिग्रीमा थियो । अझ मेलम्चीको खोँचबाट करीब १५ किलोमिटरको उचाइ र समुन्द्री सतहबाट दुई हजार पाँच सय मिटरको उचाईमा रहेको गुफाडाँडालाई चिसोले च्याप्प नसमात्ने कुरै भएन । तर, त्यो चिसोको प्रवाह त्यहाँ थिएन । बरु त्यहाँको माहोल निकै तातेको थियो । ७७ वटै जिल्लाका समन्वय समितिका सभापति मात्र होइन, केन्द्र सरकारका दुई थान मन्त्री, दुई थान पूर्वमन्त्री र प्रदेशका मन्त्रीसहित हजारौँको त्यहाँ उपस्थिति थियो । जिल्ला विकास सम्वन्वय समितिको आयोजना र जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको समवन्यवयमा जारी राष्ट्रिय जलबायु सम्मेलनको भव्य उद्घाटनको तयारी गर्दै गर्दा त्यहाँको माहोल झन् तातेको थियो ।

दोर्जी लाक्पा हिमश्रृंखलाको सन्मुखमा रहेको यो गुफाडाँडालाई दुई फन्को मारेर नेपाली सेनाको हेलिकोप्टर खुइले डाँडामा अवतरण गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले करीब पाँच–सात मिनेटको पैदल यात्रापछि जलबायु परिवर्तनको संकेत गर्ने पृथ्वीको प्रतिमा अनावरण गर्नुभयो । राष्ट्रपतिलाई हेलिकोप्टर चढेर आफ्नै गाउँमा आएको दृष्य हेर्न सिन्धुपाल्चोकबासी टाँढाटाढाबाट त्यहाँ भेला भएका थिए । मध्यान्ह १२ बजेतिर राष्ट्रपति भण्डारी त्यहाँ पुग्दा नेपाली सेनाले त्यहाँको सुरक्षा व्यवस्थालाई कढा पारेका थिए । सेनाको घेरा भित्रैबाट कार्यक्रमस्थल पुग्नुभएकी राष्ट्रपति भण्डारीलाई सेनाले करीब २० मिनेट टेन्ट टाँगेको विश्रामस्थलमा राखेका थिए । त्यसपछि सिधै मञ्चमा पुग्नुभएकी राष्ट्रपति त्यहाँ करीब दुई घण्टा बस्नुभयो । उहाँ अघि सम्वोधन गर्ने क्रममा प्रदेश मन्त्री अरुण नेपाल, पूर्वमन्त्रीहरु शेरबहादुर तामाङ, अग्नी सापकोटा, वर्तमान बनमन्त्री शक्ति बस्नेत, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायतले सम्वोधन गर्नुभयो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै राष्ट्रपति भण्डारीले जलबायु परिवर्तनले गरेको असर न्युनिकरण गर्न सबै लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले त्यसका लागि मानवीय दायित्व भएको पनि बताउनुभयो । केही हप्ता अघि मात्र जलबायुसम्वन्धि पोल्याण्डमा सम्पन्न अन्तराष्ट्रिय सम्मेलनको पनि उहाँले स्मरण गर्नुभयो । उहाँले कार्यक्रम स्थलमा सम्वोधन गर्दै धर्तीको संरक्षण गर्न हामी सबैको साझा दायित्व हो भन्दै जलबायु परिवर्तनको असर र अनुकूलनप्रति सबै जिम्मेवार हुनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले मेलम्चीको पानी राजधानीवासीले पिउने सपना साकार पार्न पनि जलबायु परिवर्तनले त्यसको असर न्युनिकरणका लागि सबैले सोच्नुपर्ने बताए । तीन दिनसम्म चल्ने सो कार्यक्रममा विभिन्न कार्यपत्र प्रस्तुत गरिने छ । सम्मेलन आज सकिँदै छ ।