रमेश चौधरीले सांसदको शपथ लिएपछि पुनः डिल्लीबजार खोरमा

maitrinews

 

काठमाडौं । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम कुमार चौधरीले पद तथा गोपनियताको सपथ लिएका छन् । उनले थारु भाषामा सपथ लिएका हु्न् । सपथ लिएपछि उनलाई फेरि डिल्लीबजार खोर पठाइएको छ ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख कृष्णबहादु्र महराले चौधरीलाई पद तथा गोपनियताको सपथ दिलाएका थिए । सपथसँगै संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले चौधरीलाई सांसदको लोगो लगाइदिए ।

टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीलाई सपथकै लागि डिल्लीबजारस्थित सदर खोरबाट सिंहदरबार पुर्याइएको थियो ।

सपथपछि सभामुख महराले सांसद चौधरीलाई फूलमाया लगाइदिए भने त्यहाँ पुगेका राजपाका नेताहरुले पनि उनलाई बधाई दिँदै फुलमाला लगाइदिए ।
२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको थियो । सो घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध मुद्दा लागेको थियो । घटनापछि फरार रहेका चौधरीले सार्वजनिक नभइकनै प्रतिनिधि सभामा उम्मेद्वारी दिई विजयी हासिल गरेका थिए ।

तर उनले निर्वाचित भए पनि सपथ लिन पाएका थिएनन् । गत असारमा उनले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए । त्यसपछि पुर्पक्षका लागि जेल चलान भएका उनी डिल्ली बजार कारागारमा थिए ।

राजपा नेपालले चौधरीको रिहाई र शपथग्रहणको विषयलाई मुख्य मुद्दा बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई दवाव दिँदै आएपछि सरकारले सपथको व्यवस्था मिलाएको हो ।