नेपालका नदीमा पानी जहाज कुदाउने सपना पूरा गरी छाड्ने ओलीको यस्तो प्रतिवद्धता

Mohan Bastola

काठमाडौैँ । सरकारले लिएको सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभियानलाई स्थानीय तहले नै आत्मसाथ गर्दै लगानीको वातावरण खोज्न थालेका छन् । यसको सुरुवात सुदूरपूर्वको जिल्ला इलामले गरेको छ । समृद्धिको पहिलो आधार आर्थिक विकास भन्ने लक्ष्यका साथ इलाम नगरपालिकाको संयोजनमा आज इलाममा पहिलो पटक लगानी सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो ।

आफ्नो निर्वाचन क्षेत्रसँगै जोडिएको इलाम पुगेर सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ढुक्कका साथ इलाममा लगानी गर्न लगानीकर्तालाई आह्वान गर्नुभयो । करिब आधा घण्टाको सम्बोधनका क्रममा प्रधानमन्त्रीले प्रदेश नम्बर एक र त्यसमा पनि इलाम अझ बढी सम्भावना नै सम्भावना भएको जिल्लाका रुपमा चित्रित गर्नुभयो । उहाँले नेपाल जलमार्गभन्दा एकसय ५० किलोमिटर मात्र टाढा रहेको भन्दै पानी जहाजबाट तेस्रो मुलुकका सामान नेपाल ल्याउने सपना केही समयमै पूरा हुने दाबी गर्नुभयो । उहाँले गण्डकी र कोशीमा नेपाली झण्डा अंकित पानीजहाज चलाउने आफ्नो पूरानो सपना त्यहाँ पनि दोहोर्याउनुभयो ।

सम्बोधनका क्रममा पटकपटक इलामको प्रशंशा गर्नुभएका प्रधानमन्त्री ओलीले इलाम हरेक हिसाबमा अग्रणी जिल्ला रहेको भन्दै उहाँले इलामले लगानी सम्मेलन गरेर राम्रो कामको सुरुवात गरेको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, पर्यटन, कनेक्टिभिटी जस्ता कुरामा पनि इलाम अग्रणी होस भन्नुभयो । हिमालको उचाईदेखि झापाको केचनाकवलसम्मको भूमि प्रदेश नम्बर एकमा रहेको भन्दै प्रधानमन्त्री ओलीले पर्यटकीय दृष्टिकोणले पनि प्रदेश नम्बर एक अग्रणी रहेको बताउनुभयो । विपगतमा भनिने गरेको गयो इलाम खायो सिलाम फर्किँदा गुण्टा लिलाम भन्ने उखान अब बिरानो भएको भन्दै इलामले परिचय फेरेको बताउनुभयो ।

प्रदेश नम्बर एक इतिहास बोकेको प्रदेश हो भन्दै प्रधानमन्त्री ओलीले विकासमा अघि बढेर अरु ६ प्रदेशभन्दा अग्रणी प्रदेशका रुपमा चिनाउन सुझाव पनि दिनुभयो । प्रदेश नम्बर एक लालीगुराँस र रेड पाण्डाको प्रदेश भएको पनि उहाँले स्पष्ट पार्नुभयो । त्यहाँ पनि उहाँले इलामको प्रशंसा गर्न छुटाउनुभएन । इलामका उत्पादन भारतीय बजारमा बिक्री हुने गरेको र त्यसका बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पटक पटक कुराकानी गरेको भन्दै भारतीय बजारमा उत्पादन हुने बस्तु ठूलो मात्रामा उत्पादन गर्न इलामका जनप्रतिनिधि र लगानी कर्तालाई सुझाव दिनुभयो ।

लगानी सम्मेलन आयोजक समितिका सदस्य तथा काठमाडौं संयोजक अर्जुन भट्टराईले इलामले पहिलो पटक आयोजना गरेको लगानी सम्मेलन भव्य रुपमा सम्पन्न भएको भन्दै सो सम्मेलनले इलाममा लगानीको वातावरण निर्माण भएको दाबी गर्नुभयो । लगानी सम्मेलनमा सहभागि हुन इलाम पुगेका उद्योगी व्यवसायीहरुले इलाममा लगानी गर्ने वातावरण रहेको भन्दै लगानीका लागि आफूहरु तयार रहेको आवश्वासन दिएको बताउनुभयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रि रघुबीर महासेठ, संबिधान सभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई सहित देशका बिभिन्न जिल्लाबाट आएका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

लगानी सम्मेलनकै अवसर पारेर इलामनगरपालिकाले प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन गरेको छ । प्रधानमन्त्री ओलीले देशको युगान्तकारी परिवर्तन र संबिधान निर्माणमा खेलेको महत्वपूर्ण भूमिकाको कदर गर्दै इलाम नगरपालिकाले नागरिक अभिनन्दन गरेको इलाम नगरपालिकाका मेयर महेश बस्नेतले जानकारी दिनुभयो ।