एउटै माछाको मूल्य ३१ लाख डलर

Maitrinews

टोकियो । जापानका एक व्यवसायीले एउटै माछालाई ३१ लाख अमेरिकी डलरमा खरिद गरेका छन् । टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछालाई ती व्यापारीले अहिलेसम्मकै बढी मूल्यमा खरिद गरेका हुन् । जापानी नागरिक कियोसी किमुराले सो माछा किनेका हुन् । जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो । यो माछा प्रतिकेजी साढे १२ लाख रुपैयाँ पर्छ ।
नयाँ वर्षको अवसरमा खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो । यो माछा दुई सय ७८ किलोको रहेको छ । विश्वमै लोपोन्मुख प्रजातिको मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो । ‘टुना किङ’को नामबाट आफूलाई चिनाउने जापानी नागरिक कियोसी किमुराले सबैभन्दा बढी बोलकबोल गरेका थिए ।

यसअघि सन् २०१३ मा पनि कियोसीले नै टुनाको सबैभन्दा बढी मूल्य कबोल गरेका थिए । ‘यो सबैभन्दा उत्तम टुना हो । म आज अति स्वादिलो र ताजा टुना किन्न सफल भएको छु,’ जापानमा सुसी रेस्टुरेन्टका मालिक कियोसीले गर्वसाथ भने । ‘पहिले सोचेभन्दा यसपटक टुनाको मूल्य बढी हो, तर हाम्रा ग्राहकले सर्वोत्तम टुनाको स्वाद लिन पाउनेछन्,’ उनले थपे । चुकिजीमा बिहान उज्यालो हुनुअघि नै माछाको लिलाम बढाबढ हुने गर्दछ ।