तातोपानी नाकामा पुनर्निर्माण कार्य तीव्र, स्थानीय वासिन्दा उत्साहित

Maitrinews

 

काठमाडौं । नेपालको चीनसँगको उत्तरी सीमा नाका तातोपानी क्षेत्रमा चिनियाँ पक्षले पुनर्निर्माणको कार्यलाई तिव्रता दिएपछि स्थानीयसँगै नेपाली अधिकारीहरु पनि उत्साहित छन् । चिनियाँ पक्षले २०७२ वैशाखको भूकम्पपछि क्षति भएका सडक, सुख्खा बन्दरगाह र मितेरी पुल तीव्र रुपमा पुनर्निर्माण गर्न थालेछि नेपाली पक्ष उत्साहित देखिएको हो ।

०७२ वैशाखको भूकम्पपछि तातोपानी नाका पूर्ण रुपमा बन्द छ । भूकम्पले नराम्रोसँग क्षति पुगेपछि तिब्बतको खासा बजार जोड्ने तातोपानी नाका बन्द हुँदा नेपाल–चीन व्यापार तातोपानी नाकाबाट ठप्प छ । हाल चीनसँग जोड्न रसुवा नाका व्यापारिक हिसाबले खुला छ । चीनले आफ्नो क्षेत्रतर्फको बाटो सुधारसँगै मितेरी पुल निर्माण धमाधम गरिरहेको छ भने बाह्रबिसेदेखि तातोपानीसम्मको सडक खण्डको काम पनि जारी छ । चीनकै सहयोगमा बन्न लागेको सुख्खा बन्दरगाहको निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

सशस्त्र प्रहरी बल २२ नम्बर गुल्मका डिएसपी कृष्णगोपाल गुरुङले पुनर्निर्माणको कार्य तिव्र गतिमा भइरहेको बताए । ‘‘नेपालकै सडकखण्डमा विभिन्न खण्ड–खण्डमा गरी झण्डै एक हजार व्यक्ति दैनिक काम गरिरहेका छन् । कामको गति हेर्दा नाका खुल्ने सकारात्मक संकेत देख्न सकिन्छ,’’ डिएसपी गुरुङले भने । यसअघि भूकम्पको जोखिम भन्दै तिब्बतपट्टिको खासा बजारको बस्ती समेत चीनले हटाएपछि तातोपानी नाका खुल्दैन कि भन्ने आशंका थियो । चीनबाट स्थलमार्ग हुँदै सामग्री ढुवानी हुने मुख्य व्यापारिक मार्ग तातोपानी सञ्चालनमा नआउँदा नेपाली व्यवसायीहरु रसुवाको केरूङ तथा लामो समुद्री मार्ग हुँदै भारतको कोलकाताबाट सामान ढुवानी गर्न बाध्य छन् ।

चिनियाँ पक्षले दुई देशको सीमा जोड्ने मितेरी पुल भत्काएर नयाँ पुल निर्माण थालेको छ । गत मंसिरमा चीनले भूकम्पले कमजोर बनेको बन्दै मितेरी पुल भत्काएको थियो । पुल भत्काएपछि दुवै देशको आवतजावत ठप्प भएको छ । सशस्त्र प्रहरी बल २२ नम्बर गुल्मका डीएसपी कृष्णगोपाल गुरुङले पुल भत्काइएपछि कोही पनि वारीपारी गर्न नसकेको बताए । आवश्यक परेको समयमा टेलिफोनमार्फत् सम्वाद हुने गरेको डिएसपी गुरुङले जानकारी दिए ।

चिनियाँ सरकारी कम्पनी ‘तान सुन रोड एण्ड ब्रिज कम्पनी’ ले मितेरी पुलको पुनर्निर्माणलाई गरिरहेको छ । विभिन्न स्थानमा बेलिब्रीजको ‘ब्रिज’ निकाल्ने र ‘डाइर्भसन’ बनाएर ट्रयाक खन्ने काम पनि भइरहेको छ । हाल कायम रहेको ८ मिटर मितेरी पुललाई पछि १२ मिटरको फराकिलो बनाइन लागेको हो । स्थानीयका अनुसार मितेरी पुलपारीको खासासम्मको बजारक्षेत्रलाई ठूला र अत्याधुनिक मेसिनबाट नयाँ प्रविधि अपनाएर पुनर्निर्माणको कार्य हुँदै आएको छ ।

यस्तै चीनको खासा र कुतीको बीचमा रहेको छेपसाङमा पहिरो जाँदा आएको भोटेकोसी बाढीले क्षति भएको सीमावर्ती क्षेत्रको सबै भौतिक संरचनाको मर्मत जारी छ । नेपालतर्फको सडक पुनर्निर्माणमा कतिपय स्थानमा भने स्थानीयले अवरोधसमेत गर्दै आएका छन् । भूकम्पपछि सुनसान बनेको सीमाको भौतिक पुनर्निर्माण हुन थालेपछि अवलोकन गर्न र घुम्न आउनेको चहलपहल विस्तारै बढ्न थालेको छ । राजधानीबाट १ सय १६ किलोमिटरको दूरीमा रहेको तातोपानी बजारसम्मै बसहरु पुग्न थालेका छन् ।