सर्वोच्च अदालतद्वारा हत्याका अभियुक्त सांसद रेशम चौधरी संसद् जाने बाटो बन्द

maitrinews

 

काठमाडौँ । गत बिहीवार सांसदको रूपमा शपथ ग्रहण गरेका रेशमलाल चौधरीले तत्काल संसद् प्रवेश गर्न नपाउने भएका छन्। सोमबार सर्वोच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न तल्लो अदालतले दिएको आदेशलाई सदर गरिदिएपछि तत्कालका लागि चौधरीलाई संसद् प्रवेशको बाटो बन्द भएको हो।

सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासले तल्लो अदालतकै आदेशलाई सदर गरेको हो।

सांसद चौधरी जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले उनलाई पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश खारेजीको माग गर्दै सर्वोच्च पुगेका थिए।

२०७२ भदौमा पश्चिम नेपालको कैलाली जिल्लामा एक नाबालक सहित सात प्रहरीको हत्या भएको घटनामा संलग्न भएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उनलाई गत बिहीवार गराइएको शपथग्रहण विवादित बनेको थियो।

सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले भने, उहाँका हकमा तल्लो अदालतले दिएकै आदेश सदर हुने आदेश भएको छ। कानुन अनुसार उहाँ अहिलेकै अवस्थामा थुनामा रहनु पर्ने आदेश हो।
कतिपय संविधानविद्हरूले समेत उनको शपथग्रहणले संसदको गरिमामाथि नै प्रश्न उठेको प्रतिक्रिया दिएका थिए।