गोविन्द केसी र काँग्रेसलाई कम्युनिष्ट सरकारको एक धक्का, अनशन अलमलमा

काठमाडौँ । डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अनशन सुरु गर्नुभएका चिकित्सक गोविन्द केसी अहिले १६ औं अनशनमा हुनुहुन्छ । उहाँले कम्युनिस्ट सरकारका प्रधानमन्त्री हुँदा मात्र होइन, नेपाली कांग्रेसले नेतृत्व गरेको सरकारका पालामा पनि पटक पटक अनशन बस्नुभएको इतिहास छ । सुरुमा विशुद्ध चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन सुरु गर्नुभएका केसीका पछिल्ला अनशन चिकित्सा शिक्षाको सुधारभन्दा पनि राजनीतिक पूर्वाग्रहबाट बढी प्रेरित हुन थालेपछि कमजोर कमजोर बन्दै जान थालेका छन् । केसीको १६ औं पटकको अनशन निक्कै कमजोर बन्नुको प्रमुख कारण पनि यही हो ।

केसी पछिल्लो समय सत्याग्रही भन्दा पनि मुडग्रही बन्न थालेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो समय केसीकै अनशनको आन्दोलनको आगोमा राजनीतिक एजेन्डाको रोटी सेकाउन थालेपछि केसी झन् आलोचित बन्नुभयो ।

१६ औं अनशन सुरु गर्ने दिन पत्रकार सम्मेलन गरेर देशका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको विषयलाई अनावश्यक टिप्पणी गर्ने, कम्युनिस्ट नेताहरुलाई समेत तुच्छ शब्दका गाली गर्ने हर्कत गरेपछि उहाँ थप आलोचित बन्नुभयो । सत्ताको नेतृत्व गरेको दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले मात्र होइन, संसदका शिक्षा तथा स्वास्थ्य समितिमा पटक पटक चिकित्सा शिक्षा विधेयकका विषयमा छलफल भयो । तर, मुडग्रही केसीले छलफलमा भाग लिनुको साटो अनशनलाई हतियार बनाउनुभयो । त्यसले पनि उहाँका ९५ प्रतिशतभन्दा बढी माग सम्बोधन गर्दै सरकारले चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित गर्दैगर्दा उहाँले खुसी मनाउन सक्नुभएन ।
चिकित्सा शिक्षाका लागि उज्यालो भविष्य कोर्ने चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाको आजको बैठकमा बहुमतबाट पारित हुँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, अनशनरत चिकित्सक गोविन्द केसी र केसीको अनशनमा डलरको खेती गर्ने तथा राजनीति गर्ने केही झुण्डमात्र बेखुस बने ।

रचनात्मक प्रतिपक्षीको भूमिका खेल्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एजेन्डा बिहीन बन्दै गोबिन्द केसीकै अनशनमा सती जाने जसरी निरन्तर संसद अवरुद्ध गर्ने खेलमा लागिरह्यो । तर, सहमतिको बाटोमा भने कांग्रेस आउनै चाहेन । केही दिन सत्तारुढ दल नेकपाले सहमति कायम गर्न कांग्रेससँग छलफलको प्रयास पनि ग¥यो । तर, ति छलफलहरु निर्णायक नबनेपछि आज बहुमतबाट चिकित्सा शिक्षा विधेयक पारित गरिएको नेकपाका नेताहरुले बताएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक संसदबाट बहुमतले पारित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अनशनरत चिकित्सक केसीका अधिकांश माग विधेयकले सम्बोधन गरेको बताउनुभयो ।

त्यस्तै मन्त्री पोखरेलले अनशनरत केसीका चिकित्सा शिक्षासँग सम्बन्धित माग सम्बोधन गर्न आफू तयार रहेको भन्दै उहाँका राजनीतिक मुद्दाका बारेमा भने आफूले जिम्मेवारी नलिने बताउनुभयो । सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री पोखरेलले केसीका जुनसकुकै मागलाई सम्बोधन गर्न नसकिने जानकारीसमेत दिनुभयो ।
प्रतिनिधिसभा अन्तर्गतकै शिक्षा तथा स्वास्थ्य समिति सदस्यसमेत रहनुभएका नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बापजुत पनि चिकित्सा शिक्षा विधेयक पारित भएको भन्दै प्रतिपक्षीका माग सम्बोधन गर्न आफूहरु तयार रहेको बताउनुभयो।

चिकित्सा शिक्षा विधेयक ऐनका रुपमा आउने भन्दै भट्टराईले अनशनरत केसीलाई अनशन फिर्ता लिएर विधेयकको स्वागत गर्न आग्रह गर्नुभयो ।

बाइट । २ ।

उहाँले यो विधेयक पास हुँदा सबैभन्दा धेरै फाइदा नेपाली जनतालाई भएको भन्दै केसीको आन्दोलनको आगोमा रोटी सेकाउने काम नगर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई सुझाव पनि दिनुभयो ।

बाइट । ३ ।

युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले पनि चिकित्सक केसीले चिकित्सा शिक्षा सुधारको भन्दा पनि राजनीतिबाट बढी पुर्वाग्रही भएर अनशन बसेको भन्दै केसीका माग झण्डै शतप्रतिशत पूरा भएकोले केसी अनशन बस्नुको कुनै तुक नभएको बताउनुभयो।

कुनै एक व्यक्तिले लहडका भरमा जननिर्वाचित संसद र सरकारलाई नै कमजोर ठानेर व्यक्तिलाई बलियो बनाउने मुडतर्क उचित होइन भन्ने सन्देश आजको संसदले दिएको छ । कुनै पनि माग राखेर अनशन बस्नु व्यक्तिको स्वतन्त्रता हो । तर, अनशनकै भरमा संविधान र ऐन, कानुनको समेत धज्जी उडाएर राजनीतिक पूर्वाग्रहका रुपमा कसैको भ¥याङ बन्ने प्रवित्ति लोकतन्त्रमा अमान्य हुन्छ भन्ने सन्देश पनि कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले दिएको छ । आशा गरौं आगामी दिनमा सामान्य मागलाई पनि अनशनकै हतियार बनाउने र धमिलो पानीमा माछा मार्ने प्रवित्ति संसदको आजको निर्णयबाट कमजोर कमजोर बनेर जानेछ ।