समायोजनका लागि प्रस्ताव पठाउने तयारी अन्तिम चरणमा

काठमाडौं। कर्मचारी समायोजन अन्तर्गत सह–सचिवहरुको समायोजनका लागि प्रस्ताव पठाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

सचिव समायोजनपछि सहसचिव समायोजनका लागि एक/दुई दिनभित्र प्रस्ताव पठाउने गरी काम भइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी उपसचिव अनिता निरौलाले  जानकारी दिइन् । हालै सरकारले ५५ सचिवलाई केन्द्र तह अन्तर्गत हाल कार्यरत रहेकै कार्यालयमा समायोजन गरेको छ ।  उनीहरुलाई मुख्य सचिवले समायोजनको पत्र समेत दिइसकेका छन् । सचिवको समायोजनपछि झण्डै ५ सय हाराहारी सहसचिवको समायोजनका लागि प्रक्रिया सुरु भएको मन्त्रालयका अर्का सहसचिव केशव पण्डितले रातोपाटीलाई जानकारी दिए ।

यतिबेला कर्मचारीले समायोजनका लागि उनीहरुले भरेका विवरणहरुको १२ वटा क्लस्टर बनाएर रुजु गर्ने काम भइरहेको उपसचिव निरौलाले बताइन् ।

उनले भनिन्, ‘१२ वटा क्लष्टर बनाएर विभिन्न सेवा सञ्चालन गर्ने निकायका अन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारीहरुको जेष्ठताको आधारमा सूची तयार गर्ने, त्यो सेवा समूह अन्तर्गत तीनै तहमा स्वीकृत भएको दरबन्दी रुजु गर्ने, दरबन्दी भन्दा बढी वा कम कर्मचारीहरु काम गरिरहेका छन् त्यसको अवस्था हेरेर रिर्पोट नै पेश गर्ने १२ वटा क्लष्टरलाई जिम्मेवारी दिइएको छ ।’

उपसचिव भन्दा मुनीका कर्मचारीहरुको जेष्ठताको आधारमा सूची निकाल्ने लगायत रुजु गर्ने काम भइरहेको निरौलाले बताइन् । फागुन ३ गतेभित्र समायोजन सक्नका लागि द्रुत गतिमा काम भइरहेको उनले बताइन् ।

समायोजनका लागि अनलाइन फारम भर्ने क्रममा सबैभन्दा धेरै कर्मचारीहरुको रोजाई प्रदेश नम्बर ३ अन्तर्गतका कार्यालय परेका छन् । सबैभन्दा कम रोजाईमा भने सुदूरपश्चिम प्रदेश परेको छ ।

प्रदेश नम्बर ३ अन्तर्गतका कार्यालयका लागि १३ हजार ६ सय ८४ कर्मचारीले आफ्नो रोजाई उल्लेख गरेका छन् । दास्रोमा प्रदेश नम्बर ५ का लागि १० हजार ४ सय ४९, तेस्रोमा प्रदेश नम्बर १ का लागि ९ हजार २ सय ९१, चौथोमा प्रदेश नम्बर ४ का लागि ७ हजार ९ सय ८४, पाँचौमा प्रदेश नम्बर २ का लागि ६ हजार ९ सय २७, छैटौमा कर्णाली प्रदेशका लागि ५ हजार २ सय ६ र सातौंमा सुदूरपश्चिम प्रदेशका लागि ५ हजार ९८ कर्मचारीले आफ्नो रोजाई उल्लेख गरेका छन् ।

७ हजार २ सय १२ कर्मचारीले समायोजनका लागि काठमाडौं महानगरपालिकामा जान इच्छा व्यक्त गरेका छन् ।

काठमाडौ महानगरपछि समायोजन हुन इच्छा बढी गरिएको स्थानीय तह ललितपुर महानगगरपालिका रहेको छ । यो महानगरपालिकामा ५ हजार १ सय २३ कर्मचारीले समायोजन हुन इच्छा व्यक्त गरेका छन् ।
यस्तै तेस्रोमा मध्यपुर ठिमी नगरपालिकाका लागि ४ हजार २ सय २४, कीर्तिपुर नगरपालिकाका लागि ३ हजार ९ सय ३६, सूर्यविनायक नगरपालिकाका लागि ३ हजार ८ सय १५, बूढानीलकण्ठ नगरपालिकाका लागि ३ हजार ७ सय ४०, भक्तपुर नगरपालिकाका लागि ३ हजार ६ सय ३९, टोखा नगरपालिकाका लागि ३ हजार १ सय ६६, महालक्ष्मी नगरपालिका ललितपुरका लागि ३ हजार १ सय १६ र पोखरा लेखनाथ नगरपालिकामा समायोजन हुनका लागि ३ हजार २६ कर्मचारीले अनलाइन विवरण भरेका छन् ।

यस्तै संघमात्र छनौट गर्ने १५ हजार ७ सय ४३ कर्मचारी छन् भने ३ हजार ९ सय १ कर्मचारीले प्रदेशका कार्यालय मात्र छनौट गरेका छन् ।

१९ हजार ८ सय ६२ कर्मचारीले संघ, प्रदेश नरोजी स्थानीय तह मात्रै समायोजन हुने इच्छा प्रकट गरेका छन् ।

मन्त्रालयले २१ दिनको अवधीभित्र अनलाइन फारम भर्न नपाएका कर्मचारीहरुको निवेदन संकलन समेत गरिरहेको छ ।
सो अवधिमा बिरामी भएर, आफन्तको निधनका कारण वा विदेशमा भएका कारण अनलाइन विवरण बुझाउन छुटेका कर्मचारीहरुले कारण खुलाई मन्त्रालयमा निवेदन दिइरहेका छन् ।

तर, यसरी निवेदन दिने कर्मचारीको हकमा के हुन्छ भन्ने थाहा नभएको उपसचिव निरौलाको भनाई छ ।

उनले भनिन्, ‘समायोजन फारम भर्न छुटेकाहरुको निवेदन लिइरहेका छौँ, उहाँहरुको हकमा के निर्णय हुन्छ थाहा छैन, यसलाई हामी मन्त्रीज्यूको नेतृत्वको समितिलाई सिफारिस गर्छौँ । जेन्यून कारण रहेछ भने सुनुवाई पनि हुन्छ होला ।’

गत पुस ११ देखि माघ २ गतेसम्म मन्त्रालयले कर्मचारी समायोजनका लागि अनलाइन विवरण माग गरेको थियो ।

कर्मचारी समायोजनका लागि कूल ७७ हजार ३४ कर्मचारीले अनलाईन विवरण बुझाएका थिए । छुटेका कर्मचारीहल्ले भने सो प्रक्रियामा सहभागि हुनका लागि मन्त्रालयलाई निवेदन बुझाइरहेका छन् ।