शहीदलाई सम्झने मात्र होइन, उनीहरुको इतिहास पाठ्यक्रममा पनि पढाइयोस् !

Mohan Bastola

काठमाडौँ । विसं १९९७ मा तत्कालिन निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध विद्रोहको विऊ रोप्ने र क्रान्तिको चेतना फैलाउने चार शहीदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई क्रुरतापूर्वक हत्या गर्यो । त्यसैका सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म विभिन्न तरिकाबाट शहीद सप्ताह मनाउने गरिएको छ । यो पटक पनि काठमाडौँ महानगरपालिकाले शहीद सप्ताह मनायो । शहीद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद स्मारकको अघिल्लतिर उभिएँर देश शहीदहरुको सम्झना गर्नुभयो ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पनि शहीदहरुको सम्झना गर्दै एक–आपसमा मिलेर अघि बढ्नु पर्ने बताउनुभयो । राजधानीमा मात्र होइन मुलुकभरी नै आज राजनीतिक दल, विभिन्न संघ–संस्था र व्यक्तिले फरक–फरक ढंगले शहीदको सम्झना गरेका छन् । धेरैले त हरेक वर्ष शहीदका शालिकमा माल्याअर्पण गरेर मात्र शहीदको सम्मान नहुने तर्क गरेका छन् । वामवन्थी आन्दोलनमा लामो समय सक्रिय रहनुभएको वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित शहीदलाई वर्षमा एक पटक मात्र सम्झिने र अरु दिने उहाँहरुले गरेका योगदानबाट विमूख रहने कुरा त्यति उचित नभएको तर्क गर्नुहुन्छ । क्रान्तिको विऊ रोप्ने र चेतना फैलाउने शहीदहरुको सम्झना मात्रै गरेर नहुने भन्दै उहाँले शहीदहरुले कुन धेयले हाँसीहाँसी मृत्युवरण गरे त्यसको सार्थकता हुनुपर्ने बताउनुभयो ।

उहाँले देशले योजना बनाउने, विकास गर्ने गर्यो भने मात्र शहीदको सपना पूरा हुने भन्दै छिन्नभिन्न राजनीतिले शहीदको सपना पूरा नहुने तर्क गर्नुभयो । विष्लेषक पुरुषोतम दाहालले पनि शहीदको सम्झना गर्नु नराम्रो नभएको भन्दै सम्झनाले मात्रै शहीदको सपना पूरा नहुने बताउनुभयो । उहाँले शहीदको परिभाषा नै विकृत भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले नेपालको सन्दर्भमा एक दिन शहीदको शालिकमा माल्याअर्पण गरेर मात्रै होइन पाठ्यक्रममै समावेश गरेर शहीद इतिहास पठाउनु पर्ने बताउनुभयो । हो, पछिल्लो समय साच्चिकै शहीदको परिभाषा नै विकृत भएको छ । हचुवाका भरमा सबैलाई शहीद घोषणा गर्दै जाने हो भने देश र जनताको हितका लागि हाँसीहाँसी जीवनको वलिदानी दिने सच्चा शहीदको पनि अपमान हुने निश्चित छ । यसमा सबैको ध्यान जान जरुरी छ ।