सङ्घवाद र समाजवाद नेपालको राष्ट्रिय एकता र समृद्धिको आधार हो : सहअध्यक्ष श्रेष्ठ

Maitrinews

काठमाडौँ । सङ्घीय समाजवादी फोरम, नेपाल काठमाडौँ महानगरपालिका वडा नं २० को प्रथम वडा अधिवेशन पार्टीका सहअध्यक्ष तथा सांसद राजेन्द्र प्रसाद श्रेष्ठले दीप प्रज्वलन गरेर उद्घाटन गरे ।
अध्यक्ष कुमार डंगोलको अध्यक्षतामा भएको उक्त अधिवेशनमा प्रमुख अतिथि श्रेष्ठले भने, ‘नेपाल जस्तो विविधतायुक्त मुलुकमा सामन्ती अधिनायकवादीहरूको भजन गाएर होइन, सङ्घीय समाजवादी बाटो अंगालेर मात्र नेपालको राष्ट्रिय एकता जोगाउन र समतामूलक समृद्धिको ढोका खोल्न सकिन्छ ।’ उनले भने, ‘ससफोले अंगीकार गरेको दुई वाद– सङ्घवाद र समाजवाद नेपालको राष्ट्रिय एकता र समृद्धिको आधार हो ।’
नेता श्रेष्ठले सङ्घीयतालाई विकेन्द्रीकरणको रूपमा नभई शक्ति बाँडफाड र साझेदारीको रूपमा बुझ्न नसक्नु र बुझेर पनि बुझ पचाउनु नेपालका शासक वर्गको षडयन्त्र भएको बताए । उनले सिँहदरवारमा बस्नेहरूले सङ्घवाद भनेको के हो र त्यसको आधारभूत मान्यताहरू के के हुन् भन्ने कुरा अध्ययन गर्नुपर्ने बताए ।
प्रमुख अतिथि श्रेष्ठले मातृभाषामा शिक्षाका लागि संसदमा ऐन कानुन बनाएर मात्र पार्टीको दायित्व पूरा नहुने भन्दै त्यसका लागि ससफोले प्रत्येक स्थानीय तहमा त्यहाँ बाहुल्यता भएको राष्ट्रिय भाषामा स्कूल खोल्न जनदवाव सृजना गर्नुपर्ने बताए ।
अधिवेशनमा पार्टीका केन्द्रीय सल्लाहकार समितिका प्रमुख डा महेशमान श्रेष्ठ, केन्दीय सदस्य तथा महानगर इन्चार्ज पवित्र वज्राचार्य, जिल्ला अध्यक्ष मनरत्न शाक्य तथा पार्टी जिल्ला सदस्य एवम् महानगर अध्यक्ष श्री मंगल रत्न ताम्राकारले पनि शुभकामना मन्तब्य दिएका थिए । अधिवेशनमा जिल्ला समिति सदस्यहरू सुरज महर्जन, सुर्यमान डंगोल, ओमरत्न ताम्राकार, ओम राज, महानगर उपाध्यक्ष विजय डंगोल तथा वरुण प्रसाद बैद्य, नन्दकाजी श्रेष्ठ लगायतका स्थानीय बुद्धिजीवीहरूको पनि उपस्थिति रहेको थियो ।
चन्दन श्रेष्ठले उद्घोषण गरेको उक्त अधिवेशनको बन्द सत्रले पुनः कुमार डंगोलकै अध्यक्षतामा ११ सदस्यीय नयाँ वडा समिति चयन गरेको छ ।
ंंं
त्यसरी नै आजै काठमाडौँ महानगरपालिका वडा नं १२ को पनि वडा अधिवेशन सम्पन्न भएको छ । बाबुराजा महर्जनको अध्यक्षतामा भएको उक्त अधिवेशनले बिक्की महर्जनको अध्यक्षतामा ११ सदस्यीय वडा समिति निर्वाचित गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय सल्लाहकार समितिका प्रमुख डा महेशमान श्रेष्ठले नेकपा र काङ्ग्रेसका नेताहरूले नेपाललाई भ्रष्टिकरण गरेको बताए । उनले हाम्रो देशलाई ठीक बाटोमा लानका लागि सही विचार बोकेको पार्टी ससफो नै भएको बताए ।
कार्यक्रममा पार्टीका ३ नम्बर प्रदेशका अध्यक्ष लालवहादुर तामाङले टोल टोलमा संगठन विस्तार गर्नुपर्नेमा जोड दिए भने पार्टीका केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज पवित्र वज्राचार्यले महानगरपालिकाका गतिविधिहरूमा चासो राख्नुपर्ने भन्दै जनतालाई मर्का पर्ने कामको विरोध गर्नुपर्ने बताए ।
अधिवेशनमा पार्टीका वैकल्पीक केन्द्रीय सदस्य द्वय मनरत्न शाक्य र राधाकृष्ण महर्जन, जिल्ला उपसचिव प्रेमराज शिल्पकार, कोषाध्यक्ष ज्ञानराजा सिक्राकार, जिल्ला सदस्यहरू मंगलरत्न ताम्राकार, बाबुराजा महर्जन, केशव महर्जन, शर्मिला डंगोल, सुरज महर्जन लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो ।