विराटनगरमा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या

maitrinews

 

विराटनगर । विराटनगरकी १० वर्षीया रूमती दासको बलात्कारपछि हत्या घटनामा संलग्न भएको अभियोगमा दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका ८ का १९ वर्षीय चन्दु महतो र २५ वर्षीय अब्बास अन्सारीलाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको हो।

एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालका अनुसार पक्राउ परेका दुबैलाई कर्तव्य ज्यान तथा जबरजस्ती करणी अभियोगमा आइतबारै अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ।

माघ १२ गते राति ८ बजे हराएकी रूमतीको शव भोलिपल्ट सिंघिया खोलामा फेला परेको थियो। शव फेला पर्नासाथ घटना अनुसन्धानमा जुटेको प्रहरीले एक सातापछि अभियुक्तलाई समातेको हो।

बालिका बलात्कारपछि हत्या अनुसन्धानमा प्रहरी चुकेको भन्दै स्थानीले दिनहुँ विराटनगरमा प्रदर्शन गरिरहेका थिए। डिआइजी रिजालका अनुसार रूमतीको शव घरभन्दा ६०० मिटर तल खोला किनारमा फेला परेको थियो।

मुखबाट रगत बगेको, घाँटीमा निलडाम देखिएको र यौनांगमा रगत जमेको अवस्थामा बालिकाको शव फेला परेको थियो।

प्रहरीको अनुसन्धानअनुसार पक्राउ अभियुक्तले बलात्कारपछि बालिकाको हत्या गरी शरीर निर्वस्त्र पारेर खोलामा फालेका थिए।

प्रहरीका अनुसार घटना हुनुभन्दा पहिला दुबै अभियुक्तबीच पीडितको घरनजिकै भेट भएको थियो। जबरजस्ती करणी गर्ने सल्लाह भएपछि बालिकालाई घरबाहिरबाट उठाएर नजिकैको चौरमा लगी मुख थुनेर पालैपालो बलात्कार गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

बलात्कारपछि बालिकाको घाँटी थिचेर हत्या गरेको पीडकले स्वीकार गरेको डिआइजी रिजालले बताए।

बालिकाको हत्यापछि दुबैले लुगाकपडा खोलेर खोला किनारमा लुकाएको र लाश खोलामा बगाएको दुबैले बयान दिएका छन्। बगाइएको लाश खोलाकिनारमा अड्केको र भोलिपल्ट उक्त लाशलाई अड्केको ठाउँबाट पुनः बगाएको पीडकको बयान उद्धृत गर्दै डिआइजी रिजालले बताए। दुबै अभियुक्त मजदुरी गर्थे।