३३ किलो सुन प्रकरणका आरोपी युएईबाट पक्राउ

Maitrinews

 

काठमाडौं । साढे ३३ किलो सुन प्रकरणका आरोपी युएईबाट पक्राउ परेका छन् । काभ्रेका हरिशरण खड्का युएईमा पक्राउ परेका हुन् ।
खड्काविरुद्ध इन्टरपोलले नोटिस जारी गरेको अवस्थामा युएईबाट पक्राउ गरेको हो । उनलाई नेपाल ल्याइने तयारी छ ।

२१ पौषमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार हुँदै पास भएको ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थल बाहिर बरामद गरेको थियो ।

सुन तस्करीमा संग्लन देखिएका १२ जनालाई ब्युरोले काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको थियो भने तस्करीमा सामेल रहेको १९ जनालाई ब्युरोले फरार अभियुक्तको सुचीमा राखेको थियो । तिनै मध्येका एक हुन्, हरिशरण खड्का ।

दुबईबाट अवैध रुपमा नेपाल सुन पठाउने मध्ये ५ जना नेपाली सक्रिय रहेको र त्यसमध्ये एक जना हरिशरण नै रहेको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ । ब्युरोको अनुसार काभ्रे चलाल गणेशस्थान ६ का हरिशरण खड्का पछिल्ला केही वर्षयता दुबईमा बसेर गुप्तलाल भुषालसँगै कारोबार गरिरहेका छन् । ३३ केजी सुन तस्करीका मुख्य मालिकमध्ये हरिशरण पनि एक रहेको ब्युरोको निष्कर्ष छ ।

सामान्य किसान परिवारका खड्काको पछिल्लो समयमा उक्लिदो आर्थिक ग्राफ उनका छिमेकी र नातेदार समेत जिब्रो काट्छन् । ब्युरोले गरेको अनुसन्धानले खड्काको एभरेष्ट बैंकको खातामा मात्रै ६७ लाख २९ हजार ६ सय ६४ मौज्दात देखाएका छ ।

दुबईमा बसेर सुन तस्करीमा संग्लन रहेको खड्काले चलाल गणेस्थानका कैयन युवालाई कामका निम्ती दुबई पठाएका देखिन्छन् । खड्काका छिमेकीका अनुसार नेपाल आउने तयारीमा रहेको खड्का सुन बरामदीको घटनापछि पक्राउ परिने डरले नेपाल आएनन् । यही बिचमा आमाको मृत्यु भएपनि खड्का नेपाल नआई दुबई नै बसे ।