लुटतन्त्र मच्चाउनेसँग सजग हुन प्रधानमन्त्रीको आह्वान

 

काठमाडौँ  ।   प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि विभिन्न नाममा लुटतन्त्र मच्चाउने र देशको विकासमा अवरोध गर्ने प्रवृत्तिसँग सजग हुनुपर्ने बताउनुभएको छ ।

गृह मन्त्रालयमा आज आयोजित ६९ औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा उहाँले यो सरकार नभए अर्को सरकार बनाउने र अहिलेको व्यवस्था नभए व्यवस्था बदल्ने बाटो हुँदाहुँदै र संविधान संशोधन गर्ने व्यवस्था हुँदाहुँदै जनतामा फेरि अन्योल सिर्जना गर्ने काम भइरहेकामा चिन्ता प्रकट गर्नुभयो ।

जनताले छानेको संविधान र प्रणालीअन्तर्गत जनताले छानेको संसद् रहेको र न्यायाधीश पनि जनताको प्रतिनिधिको अनुमोदनबाट मात्रै हुन सक्ने भएकाले लोकतन्त्रमा जनता नै सर्वाेपरि हुने बताउँदै विगतको उपलब्धिलाई रक्षा र वास्तविक सदुपयोग गर्दै सुशासन र विकासको बाटामा देशलाई अगाडि लैजाने अभिभारा देशको सामु आएको छ भन्नुभयो ।

विगतको भन्दा उन्नत र फराकिलो लोकतन्त्रमा आएको प्रधानमन्त्री ओलीको भनाइ थियो । “अहिले ल्याएको लोकतन्त्रले नयाँ बाटो खोजेर नयाँ युगमा नेपाललाई प्रवेश गराएकाले अहिले लोकतान्त्रिक अभ्यासअनुसार देश अगाडि बढ्न थालेको छ”, उहाँले भन्नुभयो ।

अहिले पनि धेरै चुनौती आएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “केही दिन अघि मात्रै अरुण तेस्रोको मेशिन जलाउने र कार्यालयमा क्षति पुर्याउने काम भयो, यो एउटा आयोजनाको मेशिन जलाइएको र तोडफोड गरिएको मात्रै होइन, नेपाललाई बिजुलीकरण गर्नु हुनुहुँदैन, ऊर्जा उत्पादन गर्नु हुँदैन, वैदेशिक लगानी आउनुहुँदैन र विकास गर्न हुँदैन भन्ने उद्देश्यअन्तर्गत नेपाललाई अन्धकार युगमा राख्ने उद्देश्यले गरिएको आपराधिक क्रियाकलाप हो, यसलाई राजनीतिसँग जोड्नु हुँदैन ।”

“जनता आफ्नो इच्छा आकाङ्क्षा प्रकट गर्न सक्छन्, जनता सार्वभौम छन्, त्यो नै सत्य हो, त्यस कारण अरु प्रवृत्तिसँग अल्झिनु हुन्न”, प्रधानमन्त्रीले भन्नुभयो । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बनेको प्रजातन्त्र दिवस मूल समारोह समितिको आजको बैठकले प्रजातन्त्र दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ ।