सूचना प्रविधि विस्तारमा उल्लेख्य प्रगति हुँदै

Maitrinews

 

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको एक वर्ष पूरा भएको छ । दुई तिहाई बहुमत नजिकको वर्तमान सरकारले सूचना तथा प्रविधिले ब्यापक उपयोग गरी डिजिटल नेपाल बनाउने प्रतिबद्धता अनुसार काम गरिरहेको छ ।
छोटो अवधिमा नेपालले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । विश्वबजारमा सूचना प्रविधि क्षेत्रमा भइरहेका नयाँ नयाँ विकासलाई नेपालले आत्मसात् गर्न सक्नु महत्वपूर्ण उपलब्धि हो । निकै ढिलो मात्र इमेल इन्टरनेट सेवा सुरु भएको हाम्रो मुलुकको सूचना तथा सञ्चारले आज महत्वपूर्ण उपलब्धि हासिल गरिसकेको छ । सूचना प्रविधि विकासका लागि टेलिफोनको विस्तार सबैभन्दा महत्वपूर्ण पक्ष हो । टेलिफोनमा भएको तीव्र गतिको विस्तारले इन्टरनेटमा मानिसको पहुँच बढ्दै गएको छ ।
ठूलाठूला कम्प्युटरदेखि मिनी ल्यापटपसम्मको यात्रामा सूचना तथा प्रविधिको क्षेत्रले विभिन्न सफलता हात पारेको छ । ल्यापटप, डिजिटल क्यामेरा, सीसीटीभी क्यामेरा, फ्याक्स मेसिन, फोटोकपी मेसिन, स्क्यानर, इन्टरनेट, रेडियो, टेलिभिजन आदि सञ्चारसाधनले मानिसको दैनिक जीवन सहज बनाइदिएको छ । मोबाइल फोनमा भएको विकास र परिवर्तनलाई सूचना प्रविधि क्षेत्रमा भएको आमूल परिवर्तन मान्न सकिन्छ ।
अत्याधुनिक प्रविधिको स्मार्टफोन प्रयोगकर्ता बढ्दै छन् । यसलाई पनि समयसाक्षेप तुल्याउने क्रम जारी छ । मोबाइलमा प्रयोग भएको प्रविधि र त्यसमा भित्रिएका नयाँ नयाँ आयामले पुराना, ठूला र भद्दा किसिमका उपकरणलाई विस्थापित गरिदिएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) का अनुसार अहिले संसार एउटा हातमा अडिएको अवस्था छ । यसले मोबाइलमै इन्टरनेट चलाउनेदेखि ग्रामीण क्षेत्रसम्म प्रभाव पारेको छ । विकट गाउँमा स्थापना भएका ग्रामीण सूचना केन्द्रमार्फत टेलिमेडिसिनको प्रयोगबाट अत्यावश्यक सेवा उपयोग गर्ने मानिस बढ्दैछन् ।
वर्तमान सरकारले सूचना प्रविधिलाई उच्च महत्व दिएकै कारण सरकार गठन भएको एक वर्षको अवधिमा महत्वपूर्ण उपलब्धि हासिल भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
कानुन निर्माण सम्बन्धमा
नेपालको संविधान बमोजिम सङ्घीय शासन व्यवस्था अनुकूल हुने गरी सञ्चार तथा सूचना प्रविधि क्षेत्रका लागि आवश्यक कानुनहरुमध्ये विज्ञापन र सूचना प्रविधिसम्बन्धी विधेयक सङ्घीय संसद्मा पेश भइसकेको छ । मिडिया काउन्सिल ऐन, आमसञ्चार ऐन, हुलाक सेवा ऐन, सुरक्षण मुद्रण ऐन, चलचित्रसम्बन्धी ऐनको मस्यौदा सहमति लिने क्रममा रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव राधिका अर्याल लामिछानेले बताउनुभयो ।
दूरसञ्चार क्षेत्र
दूरसञ्चारको नवीनतम् प्रविधि अन्तर्गतको फोरजी सेवा सञ्चालनमा ल्याइएको छ । यसरी सञ्चालनमा ल्याइएको फोरजी सेवामध्ये नेपाल टेलिकमले ४ वटा जिल्ला, एन सेलले २१ वटा जिल्ला, स्मार्ट टेलिकम प्रा.लि. ले २० वटा जिल्लामा विस्तार गरेको छ । यसबाट करिब २४ लाख सेवाग्राहीहरु नयाँ प्रविधिबाट लाभान्वित भएका छन् । नेपाल टेलिकमको फोर जी सेवा देशभर विस्तार गर्न एक वर्ष भित्र काम सम्पन्न गर्नेगरी सम्झौता भएको छ । यही अवधिमा नेपाल टेलिकमको सेवालाई सर्वसुलभ र पहुँचयोग्य बनाउन थप ५२९ वटा टावरहरु सञ्चालनमा ल्याई थप दश लाखभन्दा बढी सेवाग्राहीमा दूरसञ्चार सेवा विस्तार गरिएको छ ।
मध्य पहाडी लोकमार्ग हुँदै निर्माण गरिने सूचना महामार्गको पाँचथर धादिङ खण्डको २१७९ कि.मि. अप्टिकल फाइबर बिछ्याउने कार्यका लागि लेटर अफ इन्टेन्ट जारी गरिएको छ ।
सबै स्थानीय तहसम्म ब्रोडब्यान्ड कनेक्टिभिटी विस्तारको क्रममा हालसम्म १३७१ वटा वडा कार्यालय, १४६० वटा सामुदायिक माध्यमिक विद्यालय र १०६३ वटा स्वास्थ्य केन्द्रमा २ वर्षसम्मका लागि निःशुल्क इन्टरनेट सेवा प्राप्त हुनेगरी जडान गरिसकिएको छ ।

दूरसञ्चार सेवालाई स्वस्थ र मर्या्दित बनाउन दूरसञ्चार नियमावलीमा संशोधन गरी कुनै एक अनुमतिपत्र प्राप्त व्यक्ति, त्यसको सहायक कम्पनी, सञ्चालक, आधारभूत शेरयधनी वा निजको परिवारको सदस्य वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको कुनै फर्म वा कम्पनीले अर्को अनुमतिपत्र प्राप्त व्यक्तिको पुँजी संरचनामा एक प्रतिशतभन्दा बढी स्वपँुजी (इक्विटी) वा ऋण दिई लगानी गर्न वा गराउन नसक्ने व्यवस्था गरिएको छ । साथै कुनै पनि सेवा प्रदायकले चुक्ता पूँजीको ५ प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्न प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।
सूचना प्रविधि क्षेत्र
डिजिटल साक्षरता अभियान अन्तर्गत प्रत्येक प्रदेशमा एक÷एकवटा सामुदायिक विद्यालयलाई सूचना प्रविधि मैत्री बनाउन विद्यालय छनोट भई आवश्यक उपकरण खरिद गर्ने कार्य र डिजिटल डिभाइड कम गर्न देशभरका करिब सात सय सामुदायिक विद्यालयमा डिजिटल ल्याब स्थापना गर्न विद्यालय छनोटको कार्य प्रारम्भ भएको छ ।
सरकारी निकायबीच विद्युतीय माध्यम (ईमेल) बाट चिठ्ठीपत्र, सूचना, निर्णय तथा अन्य विवरण आदानप्रदान गरी छिटो छरितो निर्णय गर्न, सेवा प्रवाहमा सहजता ल्याउन, कागजविहीन कार्यालयको उद्देश्य प्राप्त गर्न तथा सरकारी काम कारवाहीको अभिलेख सुरक्षित राख्न ईमेल व्यवस्थापन निर्दे्शिका, २०७५ स्वीकृत भई दुई हजार भन्दा बढी पदाधिकारीहरुलाई सरकारी ईमेल वितरण भई सरकारी ईमेल मार्फत् सूचना आदान(प्रदान गर्ने कार्य प्रारम्भ भइसकेको छ ।
स्थानीय तहलाई पारदर्शी, जिम्मेवार र पहुँचयोग्य बनाउन विकास गरिएको स्थानीय तह मोबाइल एप २५५ स्थानीय तहले प्रयोग गरिसकेका छन् । अन्य स्थानीय तहमा पनि विस्तार गर्ने कार्य जारी छ । इन्टरनेट नपुगेका स्थानीय तहलाई सूचना प्रविधियुक्त बनाउन एक स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना भइसकेको छ । ४० वटा स्थानीय तहमा स्थापना गर्ने कार्य प्रारम्भ भएको छ ।
इन्टरनेटको माध्यमबाट यौनजन्य, अश्लिल सामग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता र सामाजिक सद्भावमा खलल पूगेको तथा समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गर्नसक्ने जोखिम न्यूनीकरण गर्न हालसम्म ४ लाख ५५ हजार त्यस्ता वेभसाइटहरुमा प्रतिबन्ध लगाइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
एनालग प्रविधिमा प्रसारण भइरहेका सबै केवल नेटवर्कहरुलाई डिजिटल प्रविधिमा परिवर्तन गरिएको छ ।
आमसञ्चार क्षेत्र
गुणस्तरीय आमसञ्चार माध्यम मार्फत सूचनाको पहुँच अभिवृद्धि गर्न नेपाल टेलिभिजनको चारैवटा च्यानलको प्रसारणलाई प्रतिस्पर्धी बनाई गुणस्तरीय पहुँच अभिवृद्धि गर्न हाई डिफिनेसन (एचडी) मा रुपान्तरण गरिएको छ ।
पत्रकारिता क्षेत्रमा निरन्तर रुपमा लामो समयसम्म योगदान पुर्याएका पत्रकारहका लागि रु. तीन करोडको पत्रकार वृत्ति कोष स्थापना गरिएको छ ।
आमसञ्चार माध्यममा काम गर्ने श्रमजीवी पत्रकार र कामदारको जीवनयापनका लागि न्यूनतम् पारिश्रमिक सुनिश्चित गर्न हालको न्यूनतम पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गरी २०७५ कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याइएको छ ।
चलचित्र क्षेत्र
टिकट बिक्री र त्यसबाट भएको आम्दानी, कर, प्रदर्शन अवधि र लोकप्रियतासम्बन्धी सूचना पारदर्शीताका निम्ति काठमाडाँै उपत्यकामा बक्स अफिस प्रणाली लागू भई उपत्यका बाहिर समेत लागू गर्न आवश्यक तयारी भएको पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
सूचना प्रविधिको तीव्र विकासले देशको विकट भौगोलिक दूरीसमेत कम गरिदिएको छ । प्रविधिको प्रयोगमार्फत छिटो छरितो रूपमा सूचना आदानप्रदान गर्न सकिने भएको छ । यसका साथै देशको ग्रामीण भेगमा पनि आधुनिक सूचना प्रविधिको प्रयोग बढ्दो छ ।
सूचना प्रविधि विकासले पछिल्लो समय नेपालमा मोबाइल बैङ्किङले पनि प्राथमिकता पाएको छ । नेपालका बैङ्क तथा वित्तीय संस्थाले मोबाइल बैङ्किङ, ई बैंकिङजस्ता सेवा आरम्भ गरिसकेका छन् । मोबाइल बैङ्किङ तथा मोबाइल कारोबारको उत्कृष्ट उदाहरणका रूपमा ई सेवालाई लिन सकिन्छ । यसले विस्तारै मानिसलाई पैसाका लागि बैङ्कमा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न सक्छ ।
सूचना प्रविधि शिक्षाको विकास नेपालमा बढ्दो क्रममा छ । विगतमा कम्प्युटर चलाउन सिकाउने ट्रेनिङ सेन्टरबाट सुरु भएको सूचना प्रविधि शिक्षाले अहिले विश्वविद्यालयसम्म पुगेको छ । आईटी विषय अध्यापन गराउने विद्यालयको सङ्ख्या नै दुई दर्जनभन्दा बढी छ भने हजारौंको सङ्ख्यामा आईटी अध्ययन गर्ने विद्यार्थी छन् । यति मात्र होइन, नेपालमै अध्ययन गरेर सूचना पविधि क्षेत्रमा उत्कृष्ट काम गरी विश्वमा नाम र दाम कमाउन सक्ने जनशक्ति पनि यहीँ उत्पादन भएको छ ।
केही दशकअघिसम्म एकादेशको कथाजस्तो लाग्ने टेलिफोन सेवा र मोबाइल इन्टरनेट सेवा छोटो अवधिमा देशभरि विस्तार भइसकेको छ । यही क्रममा नेपाल टेलिकमले सुरु गरेको चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा ‘फोरजी’ नेपालको सूचना प्रविधि क्षेत्रमा भएको ठूलो उपलब्धि हो । पहिलो चरणमा काठमाडौं र पोखराबाट सुरु भएको फोरजी सेवालाई नेपाल टेलिकमले देशैभर विस्तार गर्दै छ । यसको विस्तारले मोबाइल इन्टरनेट सेवामा अझ प्रभावकारी हुने विश्वास लिइएको छ । यसका साथै सरकाले नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाउनका लागि पनि कदम चालिसकेको छ । स्याटलाइट अन्तरिक्षमा पठाउने कदम सफल भएमा ताररहित दूरसञ्चार सेवा प्रवाह गर्न सहज हुनेछ । स्याटेलाइटका नाममा नेपालबाट वार्षिक अर्बौं रुपियाँ बिदेसिने क्रम रोकिनेछ ।
सरकारी सेवा पनि अहिले इन्टरनेट र प्रविधिमै भर पर्न थालेको छ । सवारी चालक अनुमति पत्रको फाराम भर्न, वैदेशिक रोजगारीमा जानेका लागि श्रम इजाजत जारी गर्न, पासपोर्टका लागि आवेदन दिन, निजामती कर्मचारीको सरुवाका लागि आवेदन भर्न र नक्सा पाससम्बन्धी सम्पूर्ण जानकारी लिन अनलाइनमार्फत नै गर्न सकिन्छ ।
अन्त्यमा, सूचना प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै छ भन्ने माथिको तथ्यले स्पष्ट पारेको छ । समृद्ध नेपाल बनाई नेपालीलाई सुखी र खुसी बनाउन सूचना प्रविधिको सहज पहुँच उपयुक्त विकल्प हुनेछ ।