यस्तो रह्यो प्रधानमन्त्री ओलीको दुई दिने सुदूरपश्चिम भ्रमण

Mohan Bastola

काठमाडौँ । दुई दिने सुदूरपश्चिमको भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज राजधानी काठमाडौं फर्कनुभएको छ । सुदुरपश्चिम प्रदेशको दुई दिने बसाईका क्रममा प्रधानमन्त्री ओली निकै व्यस्त बन्नुभयो । प्रधानमन्त्री ओलीले मंगलबार डडेल्धुराको स्याउलेमा नेपाल विद्युत प्राधिकरणको विद्युत सब स्टेशनको उद्घाटन गर्नुभयो । प्रधानमन्त्री ओलीले मंगलबार नै डोटीको विपी नगरमा सहजपुर–बोक्टान सडकको शिलान्यास समेत गर्नुभयो ।
आज बिहानै सुदूरपश्चिम प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गर्नु भएका प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी नेकपाको सुदुरपश्चिम स्तरीय कार्यकर्ता भेलालाई पनि सम्बोधन गर्न भ्याउनुभयो । कार्यक्रर्ता भेलामा प्रधानमन्त्री ओलीसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेता पनि सहभागी हुनुहुन्थ्यो । एउटै मञ्चबाट शीर्ष नेताहरुले अब चाँडै एकता प्रक्रियाले पूर्णता पाउने सन्देश दिदाँ कार्यकर्ताहरु उत्साहित भएका थिए ।

त्यसो त प्रधानमन्त्री ओलीले प्रदेशसभाको बैठकलाई करीब दुई घण्टा लामो समय सम्वोधनका क्रममा प्रदेशसभा सांसदहरुलाई जनताका इच्छा आकांक्षा बुझेर काम गर्न सुझाव दिनुभएको थियो । सम्बोधनका क्रममा उहाँले सरकारले एक वर्षमा विकास र निर्माणका लागि आधार शिला तयार पारेको र जनताका पक्षमा काम गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो । सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकारले एक वर्षमा गरेका काम वर्तमान सरकारका लागि मात्र होइन यसपछि आउने सरकारका लागि पनि उदाहरणीय रहेको प्रधानमन्त्रीको भनाई छ । उहाँले नयाँ संविधानलाई कार्यान्व्यन गर्न चाहिने कानुन निर्माण गर्नुका साथै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मूलकको संस्थागत विकासका लागि उल्लेखनीय काम गरेको बताउनुभयो ।

जनताले धेरै आशा र अपेक्षा गरेर नेपाल कम्युनस्टि पार्टी नेकपा नेतृत्वलाई स्थिर सरकार बनाउने म्यान्डेड दिएकाले जनमतको कदर गर्दै सरकारले काम गनुपर्ने बताउनुभयो । आफू नेतृत्वको सरकारले जनताकै पक्षमा काम गरेर आगामी निर्वाचनका लागि पनि राम्रो जनमत तयार पार्ने गरी सरकारको काम अघि बढेको बताउनुभयो ।सरकारले गरेका कामको विभिन्न खोले टिक्का टिप्पणीलाई आफूले राम्ररी हेरेको र बुझेको भन्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानी भित्र्याउन सरकारले आयोजना गरेको लगानी सम्मेलनको विरोध गर्नु, अरुण तेस्रो जलविद्युत आयोजनामा आगजनी गर्नुजस्ता गतिविधि सरकारको विरोधका नाममा गरिएका राष्ट्रियहीत विपरीतका काम रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको मतदान केन्द्र रहेको प्रदेश सुदुरपश्चिम प्रदेश रहेको भन्दै प्रधानमन्त्रीले नेतृत्व अभाव र नेतृत्वको हेपाईबाट विकास भएन भन्नु गलत हुने बताउनुभयो । उहाँले नेतृत्वले काम गर्ने इच्छाशक्ति प्रकट गर्नसक्नुपर्ने बताउनुभयो ।

प्रदेशसभा बैठकको सम्बोधन पछि प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी नेकपाको सुदुरपश्चिम स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गरेर सरकारले गरेका कामको फेहरिस्ता सुनाउँदा आम कार्यकर्ता उत्साहित भएका थिए । उहाँले यो वर्ष देशको समृद्धिका लागि आधार तयार पारेको र अर्को वर्षबाट आम नागरिकले परिवर्तनको महशुस गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आगामी निर्वाचनमा पनि जनताको मत प्राप्त गर्ने योजनासहित सरकारले काम गर्ने समेत दाबी गर्नुभयो ।