सांगठनिक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मा सचिवालयलाई

maitrinews

 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको एकताका प्रस्ताव तयार पार्न स्थायी कमिटीले गठन गरेको कार्यदल भंग भएको छ।
शुक्रबार बिहान प्रधानमन्त्री निवासमा बसेको सचिवालय र कार्यदल सदस्यको संयुक्त बैठकले सांगठनिक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मा सचिवालयलाई दिएको हो।

‘सचिवालयले प्रस्ताव तयार गर्ने र सांगठनिक एकीकरणको प्रस्ताव स्थायी कमिटीमा पेश गर्ने निर्णय भएको छ’, बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो।

नेकपाको स्थायी कमिटी बैठकले गत पुस १३ गते पन्ध्र दिनभित्र पार्टी एकताको संगठनात्मक प्रस्ताव तयार गर्न तथा प्रदेश कमिटीको असंगति मिलाउने गरी प्रस्ताव ल्याउन कार्यदल गठन गरेको थियो।

नौ सदस्यीय कार्यदलको संयोजक गृहमन्त्री समेत रहेका रामबहादुर थापालाई तोकिएको थियो भने महासचिव विष्णु पौडेल समेत कार्यदलमा सदस्य हुनुहुन्थ्यो।
कार्यदललाई सचिवालयका अधिकारको रिभ्यु गर्ने, पार्टीको संगठनात्मक प्रस्ताव तयार गर्ने, पोलिटब्युरो गठन र केन्द्रीय समिति सदस्यको कार्य विभाजनदेखि जिल्ला समितिको गठन र प्रदेश कमिटीमा भएका असंगति मिलाउने गरी प्रस्ताव ल्याउनेसम्मको अधिकार दिइएको थियो। तर, कार्यदलस्तरमा कुरा मिल्न नसकेपछि सचिवालयले हस्तक्षेप गरेको हो।