गोलमेकर मेस्सीको हयाट्रिकमा हाफ सेन्चुरी

maitrinews

 

काठमाडौं । गोलमेकर अर्जेन्टाइन फुटबल खेलाडी लियोनल मेस्सीले करियरको ५०औँ ह्याट्रिक पूरा गरेका छन् । स्पेनिश क्लब बार्सिलोनाका कप्तान मेस्सीले लिगको शनिबार रातिको खेलमा सेभियालाई पराजित गर्ने क्रममा ह्याट्रिकमा हाफ सेन्चुरी लगाएका हुन् ।

जसमा ३२ लिग ह्याट्रिक हो । यो खेलमा बार्सिलोना ४–२ ले विजयी भयो ।

मेस्सीले ह्याट्रिक गर्नुका साथै एक गोलका लागि सहयोग गरेका थिए । सेभियाले घरेलु मैदानमा पहिलो हाफमा २–१ ले अग्रता बनाए पनि दोस्रो हाफमा बार्सिलोना चम्कियो ।

सेभियाले २२औँ मिनेटमा जेसस नाभासको गोलबाट अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि नै मेस्सीले बराबरी गोल पर्काए ।
४२औँ मिनेटमा गाब्रीएल मर्काडोले गोल गर्दै सेभियालाई अग्रता दिलाए ।
मेस्सीले ६७ औँ मिनेटमा दोस्रो गोल गर्दै बार्सिलोनालाई २–२ को बराबरीमा ल्याए ।
मेस्सीले ८५औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै करियरको ५०औँ ह्याट्रिक पूरा गरेका थिए ।

इन्जुरी समयमा मेस्सीकै पासमा लुइस सुवारेजले गोल गर्दै टिमलाई ४–२ ले विजयी गराए ।

सेभिया विरुद्धको जितपछि बार्सिलोनाले ला लिगाको अंकतालिकामा दोस्रो स्थानको एट्लेटिको मड्रिडमाथि १० अंकको अग्रता बनाएको छ।
बार्सिलोनाको २५ खेलबाट ५७ अंक भएको छ भने एक खेल कम खेलेको एट्लेटिकोको ४७ अंक छ।

शनिबार रातिका अन्य खेलहरुमा गेटाफेले भाएकानोलाई २–१ ले हरायो । डेपोर्टिभो र सेल्टाभिगोले गोलरहित बराबरी खेले ।