भैरहवा र जनकपुरलाई हवाइ प्रवेश बिन्दु बनाउन आइकाओमा निवेदन

maitrinews

 

काठमाडौँ । भारत भैरहवा र जनकपुरबाट नेपाललाई हवाइ प्रवेशविन्दु दिन सहमत भएको छ। भैरहवा र जनकपुरबाट क्रसबोर्डर हवाइ प्रवेश बिन्दु बनाउन लागि नेपाल र भारतले संयुक्त रूपमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)मा आवेदन दिएका छन्।

भैरहवा र जनकपुरमा क्रसबोर्डर एयर इन्ट्री रूटको उडान कार्यविधि र वाइ डिरेक्सन बनाउन दुबै देशका नागरिक उड्डयन निकायले संयुक्त आवेदन दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए।

‘जनकपुर र भैरहवाको बाइ डिरेक्सन बनाउन भारतीय एयरपोर्ट अथिरिटी र नेपाल नागरिक उड्डयन प्राधिकरणले संयुक्त आवेदन दिएका छन्’ गौतमले भने।

यी रूटबाट अहिले जहाज नेपालबाट निस्कनमात्र पाँछन्। यो अनुमति पाएपछि यी दुई बिन्दुबाट जहाज नेपाल पस्न पनि पाउनेछन्। आइकाओले अध्ययन गरेपछि उडान कार्यविधिसहितको क्याटलग निकाल्छ। त्यसपछि रूट स्थापित हुन्छ।

आइकाओको स्वीकृतिपछि नागरिक उड्डयन प्राधिकरणले विभिन्न उचाइलाई आधार मानेर उडान कार्यविधि बनाउने छ।

यी ठाउँ नेपाल प्रवेश गर्ने रूट निर्धारण भएपछि त्यसको सुरक्षा मूल्यांकन ९सेफ्टी एसिसमेन्ट० हुने छ।

भैरहवा रूटबाट जहाजले प्रवेश बिन्दु पाएपछि नयाँदिल्ली तथा पश्चिम क्षेत्रबाट आउने जहाजलाई सिमराको तुलनामा सहज र छोटो पर्ने छ। त्यो रूट त्रिभुवन विमानस्थल आउनलाई पनि सिमराभन्दा छोटो हुन्छ।

काठमाडौं, पोखरा र निजगढ विमानस्थलका लागि भैरहवा रूट सजिलो हुने छ।

तर भैरहवामै निर्माण भइरहेको र आगामी वर्षदेखि सञ्चालनमा आउने विमानस्थललाई कति फाइदा हुन्छ भन्ने टुंगो छैन।

नेपालको सीमा नाकाबाट प्रवेश गर्दा उच्च उचाइमा आएका जहाज उचाइ कम गर्न नेपाली भूभाग प्रयोग गर्दा समय लाग्ने भएकोले नेपालले नेपालगञ्ज वा महेन्द्रनगर रूटमा जोड दिँदै आएको थियो।

भारतले गत असारमा भैरहवा, जनकपुरसँगै विराटनगर, नेपालगञ्ज र महेन्द्रनगरबाट पनि प्रवेश बिन्दु दिन सहमति जनाएको थियो। तर आइकाओमा निवेदन दिँदा भने उसले विराटनगर, नेपालगञ्ज र महेन्द्रनगरलाई अहिले समेट्न नसकिने बताएको छ।

प्राधिकरणका महानिर्देशक गौतम भैरहवा रूट महेन्द्रनगरजत्तिकै लाभदायी नभए पनि सोचिएजस्तो कठिन नहुने बताउँछन्।

‘हाम्रो भैरहवाको प्रवेश विन्दु विमानस्थलबाट २८ किलोमिटर दक्षिणतिर पर्छ। यसमा जहाज न्युनतम १० हजार फिटको उचाइमा आउँछन्। हाम्रो एयरस्पेसमा आउँदा १० हजार फिटबाट इन्ट्री हुन्छ भन्ने आधारमा उडान कार्यविधि बनाउने हो। तत्कालिन ट्राफिकको आधारमा ल्यान्ड गराउने हो। त्यहीअनुसार रूट डिजाइन गर्छौं,’ उनले भने।

भैरहवा विमानस्थलका लागि नेपालगञ्ज वा महेन्द्रनगर लाभदायी रूट भएपनि तत्कालका लागि त्यो पाइने सम्भावना छैन। त्यसैले अहिलेकै

रूटलाई प्रभावकारी डिजाइन गरेर कार्यान्वयन गर्नु पर्नेमा क्यानका अधिकारीहरू छन्।

महानिर्देशक गौतमले अब हवाइ प्रवेश बिन्दुको अभावकै कारण विमानस्थलको व्यावसायिक सञ्चालनमा असर पर्ने अवस्था नरहेको बताए।

‘रूटबारे तत्काल चिन्तित हुनुपर्ने अवस्था छैन। भैरहवा विमानस्थलका लागि त्यति गाह्रो हुँदैन। जहाज आउँदा ३७ हजार फिटमाथिबाट प्रवेश गर्ने भन्ने हुँदैन, अहिले पनि सिमरामा प्रवेश गर्दा १५ हजार फिटमै आउँछन्,’ गौतमले भने,‘भैरहवामा पनि १५ हजारबाटै जहाज आए पनि त्यहीअनुसारका उडान कार्यविधिबाट ल्यान्ड हुन्छन्।’

धमाधम निर्माण भइरहेको भैरहवा विमानस्थलको अहिले धावनमार्ग कालोपत्रे गर्ने काम भइरहको छ। वैशाखसम्म धावनमार्ग र ट्याक्सी वेको कालोपत्रे सकिने आयोजनाले जानकारी दिएको छ। टर्मिनल भवन र टावरको काम पनि असारभित्रै सकिने अयोजनाले जानकारी दिएको छ।

असारसम्म सबै भौतिक काम सकेर भदौ असोजसम्म हवाइ इक्वूपमेन्ट जडानको काम सकेर उडान सञ्चालनका लागि तयार पारिसक्ने सरकारी योजना रहेको छ।