९६ वर्षकी हजुरआमा पढाइमा अब्बल

Maitrinews

 

पढाइ लेखाइलाई उमेरले छेक्दैन । भारतमा एक ९६ वर्षीया वृद्धाले यो भनाइ पुष्टि गर्दै आफ्नो अब्बलता प्रमाणित गरेकी छन् । भारतको केरला सरकारद्वारा सञ्चालित प्रौढ साक्षरता कक्षाअन्तर्गत भएको परीक्षामा कार्तियानी अम्मा नामकी ती वृद्धा ९८ प्रतिशत अंक प्राप्त गरी प्रथम भइन् ।
परीक्षामा पढ्ने, लेख्ने तथा गणितका हिसाब गर्ने क्षमता जाँचिएको थियो । परीक्षामा अब्बल दरिएपछि हौसिएकी कार्तियानीले भनेकी छन्, ‘अब मेरो पढाइ रोकिनेवाला छैन । छिट्टै म चौथो कक्षाको पढाइ पूरा गर्नेछु । फेरि आठौं र दशौं । सय वर्षकी हुँदा दश कक्षा पास गर्नेछु । त्यसपछि मैले सरकारी जागिर पाउनेछु भन्ने आशा छ ।’ उनलाई केरलाका मुख्यमन्त्रीले प्रमाणपत्र प्रदान गरे । उक्त परीक्षामा करिब ४३ हजार परीक्षार्थी सहभागी थिए । कार्तियानी सबैभन्दा जेठी परीक्षार्थी हुन् । उनले गणितमा ३० मा ३०, लेखनमा पनि ३० मा ३० र पठनमा ३० मा २८ नम्बर प्राप्त गरिन् ।