आठ जिल्लाका सिडिओ फेरिए,कसलाई कहाँ ?

maitrinews

काठमाडौँ । गृह मन्त्रालयले  आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को जिम्मेवारी हेरफेर गरेको छ । जसअनुसार इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रहेका सुशील वैद्यलाई कञ्चनपुरको कायममुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

रौतहटको कामु सिडिओमा किरण थापा, पाँचथरको सिडिओमा गृह मन्त्रालयमा कार्यरत उपसचिव मुरारी वस्ती तथा कञ्चनपुरका कामु सिडिओ शंकरबहादुर विष्ट दार्चुलाका सिडिओ भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा सहायक प्रजिअका रूपमा कार्यरत सुरेशसुनार बझाङका सिडिओ भएका छन् । भक्तपुरका सहायक सिडिओ जयकुमार घिमिरे मुगुका सिडिओ, सिन्धुपाल्चोकका सहायक सिडिओ दुर्गा बन्जाडे जुम्लाका सिडिओ तथा इलाका प्रहरी कार्यालय साँखुमा कार्यरत मुकेश केसरीलाई डोल्पाको सिडिओ बनाइएको छ ।

 एसएसपीको पदस्थापन र सरुवा 
गृह मन्त्रालयले आइतबार गत साता बढुवा भएका एसएसपीको पदस्थापन गरी केहीको सरुवा गरेको छ । केही संघीय प्रहरी एकाइका प्रमुखहरूको पनि सरुवा भएको छ । संघीय प्रहरी एकाइ गण्डकीमा पूजा सिंह, लुम्बिनीमा राजेशलाल कर्ण, सेतीमा देवबहादुर बोगटीको सरुवा भएको छ । गृहले १४ एसएसपीको पदस्थापन गरेको छ । सन्दीप भण्डारी विमानस्थल, टेकप्रसाद राई तालिम महाशाखा, उमेशराज जोशी महानिरीक्षकको सचिवालय, शयमलाल ज्ञवाली महानगरीय प्रहरी कार्यालय, डा. गणेश रेग्मी योजना तथा विकास निर्देशनालय, रामदत्त जोशीको केन्द्रीय अनुसन्धान ब्युरोमा पदस्थापन भएका छन् ।

दीपक थापा आर्थिक प्रशासन महाशाखा, मीरा चौधरी प्रदेश प्रहरी कार्यालय जनकपुर, बुद्धिराज गुरुङ जुनियर प्रहरी एकेडेमी भरतपुर, किरण बज्राचार्य महानगरीय प्रहरी कार्यालय, पोषराज पोखरेल सशस्त्र प्रहरी महाशाखा, टेकबहादुर तामाङ सामुदायिक सुरक्षा महाशाखा, वसन्त कुँवर प्रहरी एकेडेमी, भीम ढकाल कार्य विभागमा पदस्थापन भएको छ । शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले ६४ जना इन्स्पेक्टरलाई डिएसपी बढुवाका लागि सिफारिस गरेको छ ।

डेढ दर्जन जिल्ला अझै कामु सिडिओकै भरमा
अझै पनि १५ वटा भन्दा धेरै जिल्ला कामु सिडिओका भरमा चलेका छन् । ६ महिनाभन्दा लामो समय कामु सिडिओ राख्न नपाइने कानुनी प्रावधानविपरीत नौ महिनादेखि जिल्ला प्रशासन कार्यालयहरू कामु सिडिओका भरमा चलेका छन् । सहसचिव सिडिओ हुने धेरै जिल्लामा उपसचिवलाई सिडिओ बनाइएको छ । सहसचिव पर्याप्त नहुँदा यसो गर्नुपरेको गृहको दाबी छ ।