भगवान् गौतम बुद्धको मूर्ति स्थापना

maitrinews

 

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा भगवान गौतम बुद्धको मूर्ति स्थापना गरिएको छ । अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी प्रकाश तुलाधारले छोरी प्राशा तुलाधरको सम्झनामा गौतम बुद्धको मूर्ति स्थापना गर्नुभएको हो । यही फेब्रुअरी १८ का दिन न्युयोर्कको उडसाइड ७५—१५ स्थित सत्यनारायण मन्दिर परिसरमा गौतम बुद्धको मूर्ति स्थापना गरिएको छ । प्राशा तुलाधारको यही फेबु्रअरी ७ मा निधन भएको थियो । उहाँको तीन वर्षअघि फोक्सो प्रत्यारोपण गरिएको थियो ।
सन् २०१६ मा फोक्सो प्रत्यारोपण गरिएपछि प्राशा तुलाधर आफूजस्तै बिरामीहरुको उपचारका लागि अंगदान अभियानमा खटिनुभएको थियो । यस अभियानमा उहाँका पति दीपकले सहयोग गर्नुभएको थियो । अंगदान र छालासम्बन्धी रोग स्क्येरेडोमाका बारेमा जनचेतना फैलाउने क्रममा प्राशा तुलाधर सन् २०१८ मा न्युयोर्क राज्यका सांसदहरुलाई भेट्न पतिका साथ बासिङ्टनस्थित क्यापिटल हिल पुग्नु भएको थियो ।
सत्यनारायणको मन्दिर परिसरमा एक समारोहको आयोजना गरी मन्दिरका पण्डित हेमन्त रमियानाले गौतम बुद्धको मूर्ति स्थापना गर्नुभएको थियो । उहाँले मन्त्रोच्चारण तथा पाठपूजा गरी मूर्ति स्थापना गरेपछि उपस्थिति भक्तजनहरुलाई धन्यवाद दिनुभयो । पण्डित रमियानाले यस्तो पुण्य कार्यमा लागि रहन सबैलाई प्रेरणा मिलिरहोस् भन्दै तुलाधार परिवारले पुण्य कार्य गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा दिवंगत प्राशाको आत्माको चिरशान्तिको कामनाको कामना गर्दै मौनधारण गरिएको थियो ।