अब सम्झनामा मात्रै रवीन्द्र अधिकारीः अधिकारीका राजनीतिक गुरु र समकक्षीको यस्तो छ सम्झना

Mohan Bastola

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले तेह्रथुमको चुहानडाँडामा गर्नुभएको यो सम्बोधन नै नेपाली जनताका लागि गरिएको अन्तिम सम्बोधन बन्यो । खराब मौसमका बापजुत आफूहरु देशलाई समृद्ध बनाउने अभियानका क्रममा बेग्लाबेग्लै ठाउँमा पुगेर काठमाडौं फर्कने योजना सुनाउनुभएका अधिकारी ताप्लेजुङबाट फर्कने क्रममा बाटैबाट सदासदाका लागि बिदा हुनुभयो ।

२०७४ साल चैत्र २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएका स्वर्गीय अधिकारी नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा उदाएका एक क्षमतावान र प्रभावशाली युवा नेता हुनुहुन्थ्यो । नेपाली जनता र त्यसमा पनि युवा पुस्ताबीच अझ बढी लोकप्रिय नेताका रुपमा परिचित अधिकारीको आज हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । २०२६ बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्र प्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मिनु भएका अधिकारीसहितको टोली तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि पाथीभरा दर्शनमा गएको थियो । त्यहाँबाट फर्किएको केही बेरमै आज उहाँसहित सात जनको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको हो । गाउँकै श्री ब्रह्म ज्योति प्रावी शान्ति पंधेरा गैरागाँउबाट प्राथमिक शिक्षा र तत्कालिन शान्ति उदय मा.बि बरपाण्डेथुमबाट माध्यामिक तहको शिक्षा हासिल गर्नुभएका अधिकारीले एसएलसी उत्रिण गर्ने वित्तिकै वन विज्ञान अध्ययन संस्थानमा भर्ना भए पनि त्यहाँ उहाँले लामो समय अध्ययन गर्नुभएन । उहाँले २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखराबाट उच्च शिक्षाको अध्ययन शुरू गर्नुभएको थियो भने विद्यार्थी बीच लोकप्रिय नेता अधिकारी त्यही क्याम्पसको स्ववियु सभापति पनि निर्वाचित हुनुभएको थियो । २०४५ सालमा अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष र २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य बन्नु भएका अधिकारी २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरको स्वबियु सभापति निर्वाचित हुनुभएको थियो ।

२०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वाचित हुनु भएका अधिकारी २०५६ सालमा अनेरास्वबियुको केन्द्रीय अध्यक्ष बन्नू भएको थियो । त्रि.बि. बाट ब्यबस्थापनमा स्नातकोत्तर गर्नु भएका उहाँ २०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको थियो । २०७० को चुनाबपछि संसदको बिकास समितिमा सभापति रहनु भएका अधिकारी २०७४ सालको संघीय संसदमा कास्की क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको थियो ।

सानै उमेरदेखि कम्युनिष्ट राजनीतिप्रति गहिरो झुकाव राख्ने अधिकारीसँग सबैलाई मिलाएर लैजान सक्ने खुवी थियो । विद्यार्थी आन्दोलनकै क्रममा पटक–पटक जेल–नेल भोग्नु भएका अधिकारी विकासप्रेमि नेता समेत हुनुहुन्थ्यो । संबिधानसभा र संसदमा रहँदा उहाँले समग्र मुलुकसँगै कास्की जिल्लाको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । पोखराको पर्यटन बिकास, ग्रामीण बाटो, फेवा बेगनास, रूपालगायतका ताल तलैयाको संरक्षणको क्षेत्रमा पनि उहाँले उलेख्य भूमिका खेल्नु भएको थियो । पोखरालाई बिश्वकै उत्कृष्ट शहर बनाउने योजना बनाउनु भएका अधिकारीले पोखरामा अन्तराष्ट्रिय विमानस्थल, चक्रपथ, काठमाण्डौँ पोखरा लुम्बिनी फाष्ट ट्र्याक, काठमाडौँ पोखरा रेल वे, मध्यपहाड़ी राजमार्ग, जस्ता पुर्बाधार निर्माणको दबाब सृजना गर्ने काम गर्न महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

स्वर्गीय अधिकारीलाई उहाँका राजनीतिक गुरुसमेत रहनुभएका नेकपाका नेता सोमनाथ प्यासीले आजको दुर्घटना दुखद भएको भन्दै यो दुर्घटनाले नेपालको एक शक्तिशाली, होनाहार युवा नेता गुमाएको बताउनुभयो । स्वर्गीय अधिकारीले छोटो समयमै आम नेपाली र कास्कीका जनतामाथि लगाएको गुन कसैले विर्सन नसक्ने बताउनुभयो ।त्यस्तै अनेरास्ववियुका पूर्वअध्यक्ष तथा प्रदेश ३ सरकारका पर्यटनमन्त्री अरुण नेपालले पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीको निधनले देशलाई ठूलो क्षति पुगेको बताउनुभयो । उहाँले सिंगो देशको समृद्धिका लागि लागिपरेको, सबैले विश्वास गर्न सकिने, भरपर्दो युवा नेतालाई गुमाउनुपरेको भन्दै यो पीडा असह्य रहेको बताउनुभयो ।
त्यस्तै नेकपाका नेता तथा प्रदेश १ सरकारका आन्तरिक मामिला मन्त्री हिक्कमत कुमार नेपालले पनि आजको दिन राजनीतिक इतिहासमा ठूलो दुर्घटना भएको दिनका रुपमा आफूले दिएको बताउनुभयो।

आम नेपाली त्यसमा पनि युवापुस्ताको मन जित्न सफल नेता अधिकारीको निधनले देशले सम्भावना बोकेको नेता गुमाएको स्मरण गर्नुभयो । नेकपाका नेता तथा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले पनि आज देश र पार्टीलाई अपूरणीय क्षति पुग्ने गरी दुर्घटना भएको बताउनुभयो । स्वर्गीय अधिकारी डाइनामिक नेता रहेको भन्दै उहाँले जुनसुकै विषयवस्तुलाई नजिकबाट चिन्नसक्ने प्रतिभाशाली नेतालाई छोटो अवधिमै गुमाउँदा आफूलाई पीडाबोध भएको बताउनुभयो ।
त्यस्तै राष्ट्रियसभाका मुख्य सचेतक खीमलाल भट्टराईले स्वर्गीय अधिकारी सरल, सक्षम र कामलाई परिणाममुखी बनाउनुपर्छ भन्ने सोच भएका जुझारु युवाका रुपमा आफूले चिनेको बताउनुभयो । जनताको सेवामा समर्पित, देशले भरोसा गरेको होनाहार सपुतलाई गुमाउँदा आफूहरु विछिप्त बनेको बताउनुभयो । यसैबीच नेपाल कम्युनिस्ट पार्टी नेकपाले एक शोक बक्तव्य जारी गर्दै ताप्लेजुङ दुर्घटनाले नेपाललाई अपूरणीय क्षति पुगेको जनाएको छ । नेकपा अध्यक्षद्वउ केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जारी गर्नुभएको बक्तव्यमा देशले होनाहार अब्बल राजनीति कर्मी, प्रशासन, पर्यटनकर्मी गुमाएको उल्लेख गरिएको छ ।

२०६३ साल असोज ७ गते ताप्लेजुङकै घुन्सामा श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटना हुँदा तत्कालीन वन तथा भू संरक्षण राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङसहित २४ जनाको निधन भएको थियो ।