हेलिकोप्टर दुर्घटना : सैनिकमञ्च टुँडिखेलमा श्रद्धाञ्जली अर्पण

maitrinews

 

काठमाडौँ । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई टुँडिखेलमा श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालबाट शव यहाँ ल्याइएपछि श्रद्धाञ्जलिको कार्यक्रम शुरु भएको थियो । श्रद्धाञ्जलि दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुकको भीड लाग्यो ।
दुर्घटनामा निधन भएका सबैको शव हिजो अपराह्न काठमाडौँ ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । शव परीक्षणपछि त्रिवि शिक्षण अस्पतालबाट शव श्रद्धाञ्जलिका लागि टुँडिखेलमा ल्याइएको हो ।

बिहीबार श्रद्धाञ्जली कार्यक्रम राखिए पनि सबैको शव पहिचान हुन नसकेपछि आज बिहानका लागि श्रद्धाञ्जली कार्यक्रम राखिएको हो ।
मन्त्री अधिकारीलगायत अन्य दिवंगतहरुलाई श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायत पनि उपस्थित हुनुभयो ।

श्रद्धाञ्जलीपछि अन्त्यष्टिका लागि शव आजै परिवारलाई बुझाउने छ । मन्त्री अधिकारीलाई गृह जिल्ला कास्कीमा लगेर अन्त्यष्टि गर्ने तयारी गरिएको छ । आफन्त तथा पोखरेलीको आग्रहअनुसार मन्त्री अधिकारीको शव कास्की लैजान लागिएको हो ।
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले नेकपाका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको निधनमा बिहीबार शोक प्रस्ताव पारित गरेको थियो ।