पूर्वअर्थमन्त्री भरतमोहनको निधन

काठमाडौँ । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आज राती ९ बजेर ४५ मिनेटमा ह्याम्स अस्पतालमा निधन भएको छ । अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको हो । अधिकारीको शुक्रबार साँझदेखि पिसाब रोकिएको थियो । अस्पतालले शनिबार दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गरेर अधिकारीको सबै अंगले काम गर्न छोडेको जनाएको थियो । अस्पतालको धारणापछि अधिकारीको अवस्था सार्वजनिक गर्न प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री केपी ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेता सहभागी हुनुहुन्थ्यो । राति ९ः ३० बजेसम्म उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सोही अस्पतालमा रहनु भएको थियो । त्यस्तै ८ः३९ बजेसम्म पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेता अस्पताल पुग्नुभएको थियो । चिकित्सकहरुले आफन्तलाई निधन भएको जानकारी दिइसकेका छन् । अधिकारीको निधन भएको खबर पाएसँगै अस्पताल परिसरमा आफन्त र शुभेच्छुकको रुवाबासी भएको छ । फोक्सो र मुटुमा समस्या हुँदा तीन हप्तादेखि ह्याम्स अस्पतालमा उपचाररत अधिकारीलाई बचाउन नसकिएको ह्याम्स अस्पताल प्रशासनले दिएको छ । अधिकारी वि.सं.१९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा बुवा रामचन्द्र र आमा पूर्णकुमारीको कोखबाट जन्मिनु भएको थियो । उहाँका श्रीमती ओमकुमारी र तीन छोरी हुनुहुन्छ ।

कानुन र अर्थराजनीतिका विज्ञ अधिकारीले अर्थशास्त्रमा एमए र कानुनमा बीएलसम्मको औपचारिक अध्ययन गर्नुभएको थियो । महोत्तरीमा जन्मिएर विराटनगरलाई कार्यक्षेत्र बनाएका अधिकारी पछिल्लो समय ललितपुरमा बस्दै आउनु भएका अधिकारीले चार वर्ष भूमिगत, तीन वर्ष निर्वासन र तीन वर्ष बन्दी जीवन बिताउनु भएको थियो । विसं २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गर्दा उनी ८१ दिन नजरबन्दमा हुनुहुन्थ्यो । नेपालमा अद्योगीकरणका समस्या, मेरो जीवनयात्रालगायत कृति प्रकाशित गरेका छन् । वि.सं. २००८ सालमा राजनीतिमा आवद्ध हुनुभएका अधिकारीले तत्कालीन एमालेको नवौं महाधिवेशनमा लिखित रुपमै पार्टीको कुनै पनि नेतृत्वदायी कमिटीमा नबस्ने घोषणा गर्नुभएको थियो । अधिकारीले १६ वर्षको उमेरमा बनारबाट भारतीय कम्युनिस्ट पार्टीको सदस्यता लिएर राजनीतिमा आवद्धता जनाउनु भएको थियो

पञ्चायतविरुद्ध लामो सघर्ष गर्नुभएका अधिकारी २०४७ सालको संविधान लेखन समितिका सदस्य हुनुहुन्थ्यो । वाममोर्चाको तर्फबाट माधवकुमार नेपाल निर्मल लामासँगै अधिकारी संविधान लेख्ने आयोगका सदस्य बन्नुभएको थियो ।
०४७ सालको संविधान लेखनमा उहाँको भूमिकालाई महत्वकासाथ हेरिन्छ । त्यसपछि माले र माक्र्सवादी एकता भएर नेकपा एमाले बन्दा अधिकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । गिरिजाप्रसाद कोइरालाले टनकपुरको विषयमा राष्ट्रघाट गर्दा संसदमा लगातार सात घण्टा नारा लगाउने कामको अगुवाई अधिकारीले नै गर्नुभएको थियो । २०४९ सालमा एमालेको पाँचौं महाधिवेशनमा मदन भण्डारीले ल्याएको ‘जनताको बहुदलीय जनवाद’ कार्यक्रम निर्माणमा अधिकारीको महत्वपूर्ण योगदान रहेको थियो ।
२०५१ सालको मध्यावधि निर्वाचनमा तत्कालीन एमालेको सरकार बन्दा अधिकारी अर्थमन्त्री हुनुभयो । नौ महिना मन्त्री हुँदा उहाँले दुईवटा बजेट पेश गर्नुभयो । उहाँले ०५२ असारमा अध्यायदेशमार्फत् पूर्ण बजेट पेश गर्नुभएको थियो ।
०५२को बजेटमा अधिकारीले अगाडि सारेका आफ्नो गाउँ आफै बनाऔं, वृद्धा भत्ता, सामाजिक सुरक्षा, नौ स लगायतका नाराले लोकप्रियता पाएका थिए । २०४७ सालमा संविधान आयोगका सदस्य भएका अधिकारी २०४८ पछि चार पटक सांसद निर्वाचित हुनुभयो । पाँच पटक विभिन्न मन्त्रालय सम्हालेका अधिकारी पहिलो पटक ०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा एमालेको एकमना सरकारमा अर्थमन्त्री बनेका अधिकारी दोस्रो पटक २०५५ सालमा कांग्रेससँगको संयुक्त सरकारमा अर्थमन्त्री बन्नुभयो । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उहाँले एमालेको तर्फबाट नेतृत्व गर्नुभएको थियो । २०६१ साल असार २१ गते उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी पाउँदा अधिकारीले सात दिनमै बजेट तयार पार्ने जिम्मेवारी पाउनु भएको थियो । अधिकारी २०६७ साल माघ २७ गते उपप्रधानमन्त्री बन्नुभयो ।