राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला जनता : प्रधानमन्त्री

maitrinews

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालको द्वन्द्व व्यवस्थापन तथा शान्ति स्थापनामा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
बालुवाटारमा राष्ट्रिय सुरक्षा नीति, २०७३ उच्चस्तरीय परिमार्जन गर्न बनेको समितिको प्रतिवदेन बुझ्दै उनले सो कुरा बताएका हुन् । सो अवसरमा उनले राष्ट्रिय सुरक्षाको सवैभन्दा बलियो किल्ला जनता नै हो भन्दै राष्ट्र एकीकरणको क्रममा निर्माण भएको नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ योगदान पुर्‍याउँदै आएको कुरा प्रसंसनीय रहेको बताएको उनको निजी सचिवालयद्वारा जारी गरिएको वक्तव्यमा उल्लेख छ ।
सो अवसरमा समितिका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष केपी शर्मा ओलीलाई ‘राष्ट्रिय सुरक्षानीति–२०७५’ को प्रतिवेदन बुझाएका थिए । अध्यक्ष एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले प्रतिवेदन बुझाउदैं नेपालको संविधानको मर्म र भावना तथा संविधानका निर्देशक नीतिहरुलाई मुख्यआधार मानेर परिवर्तित सन्दर्भ अनुरुप मस्यौदा तर्जुमा गरिएको बताए ।

राष्ट्रिय सुरक्षा परिषदले गत असोज १ गते सुरक्षानीति परिमार्जनको आवश्यकता महसुस गर्दै असोज ५ गते उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा ७ सदस्यीय ‘राष्ट्रिय सुरक्षानीति, २०७३ उच्चस्तरीय परिमार्जन समिति’ गठन गरेको थियो ।