५५ हजार बढी कर्मचारी समायोजन भइसकेको मन्त्री लालबाबुको भनाई

Mohan Bastola

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभियानमा अघि बढेको बताउनुभएको छ । नेता नेपालको जन्मदिनकै अवसर पारेर रौतहट टाइम्सले २१ औं वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताउनुभएको हो । उहाँले सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सोही कार्यक्रममा बोल्दै अहिलेसम्म ५५ हजारभन्दा बढी कर्मचारी समायोजन भइसकेको जानकारी दिनुभयो । उहाँले कर्मचारी समायोजनसँगै सरकारको गतिपनि अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पण्डितले मानवीय व्यवस्थापनको पाटो चालू आर्थिक वर्षभित्रमा सतप्रतिशत सम्पन्न गर्ने पनि दाबी गर्नुभयो ।

उहाँले सरकार हैन प्रणाली नै फेरिएकाले काम गर्ने सवालमा केही अलमल भएको स्वीकार गर्दै यो अलमलको विषयलाई लिएर सरकारको असफल भएको हल्ला गर्दै हिँड्ने हो भने, देश कहिल्यै पनि सफल नहुने चेतावनी दिनुभयो ।
पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले वर्तमान सरकारबाट जनताले धेरै अपेक्षा गरेको भन्दै सरकारलाई तीन ‘स’का आधारमा काम गर्न सुझाव दिनुभयो । उहाँले सरकारले स्पीड, स्केल र स्कीलमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सांसद रामनारायण बिँडारीले समृद्ध नेपाल सुखी नेपाली निर्माणका लागि एक अर्कालाई दोषारोपण गर्ने र उम्कने परिपार्टी अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बरिष्ट पत्रकार शम्भु श्रेष्ठले सरकारले द्रुततर गतिमा काम अघि बढाउनका लागि व्यवधान कहाँबाट भएको हो, कसबाट भएको हो भन्ने कुरालाई ख्याल गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारी संयन्त्रको पूरापुर सहयोग नहुँदा सरकारको काम भनेजसरी अघि बढ्न नसकेको पनि जिकिर गर्नुभयो । कार्यक्रममा रौतहट टाइम्सका प्रकाशक सम्पादक गोविन्द चौलागाई लगायतले बरिष्ठ नेता नेपालको जन्मदिनको अवसरमा केक काटेर शुभकामना दिनुभएको थियो ।