आज नेकपाका दुई नेताको श्रद्धाञ्जली सभा भृकुटीमण्डपमा

maitrinews

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०ले आफ्ना दुईजना नेताको सम्झनामा आज काठमाडौँमा संयुक्त श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।

पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको सम्झनामा श्रद्धान्जली सभा गर्न लागेको नेकपाले जनाएको छ ।

भृकुटीमण्डपमा दिउँसो १ बजे सुरू हुने श्रद्धान्जलीसभामा नेकपाका दुवै अध्यक्षले सम्बोधन गर्ने नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

पहिलो पुस्ताका अनुभवी नेता भरतमोहन र युवा पुस्ताका भरोसायोग्य नेता रवीन्द्र अधिकारी गुमाएको नेकपाले आज आयोजना गरेको श्रद्धाञ्जली सभामा उपस्थित हुन सवैलाई अपिल गरेको छ ।

पूर्व उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको फागुन १८ गते ह्याम्स अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको थियो । यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको यही फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।