गण्डकी मेडिकल कलेजका अध्यक्ष अर्याल फरार, सिइओ र नियन्त्रक पक्राउ

Maitrinews

 

पोखरा । विद्यार्थीबाट अवैध तरिकाले रकम असुल गरेको आरोपमा गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई प्रहरीले पक्राउ गरेको छ।
कलेजमा अध्ययनरत १८ जना विद्यार्थीले जाहेरी दिएपछि अनुसन्धान तथा कारबाहीका लागि दुबैलाई कास्की प्रहरीले बुधबार राति पक्राउ गरेको हो।
कास्कीका प्रहरी उपरीक्षक ओम रानाका अनुसार अहिलेसम्म उक्त मेडिकल कलेजले ५३ करोड रूपैयाँ बढी अवैध शुल्क उठाएको देखिएको छ।
‘स्टाफ नर्स, एमबिबिएसलगायत शैक्षिक कार्यक्रममा तोकिएको भन्दा बढी शुल्क उठाएको उजुरी छ, ५३ करोड रूपैयाँ असुल गरेको देखिन्छ,’ रानाले भने।

रानाले सरकारी वकिलसँग परामर्श गरी दुबैमाथि अनुसन्धान थालिएको बताए। कलेजका अध्यक्ष खुमा अर्यालसहित १० जनाविरूद्ध बुधबार कास्की प्रहरीले पक्राउ पूर्जी जारी गरिएको थियो। अर्याल भने अहिले फरार छन्।

प्रहरीले उनको खोजीका लागि विभिन्न जिल्लामा सर्कुलर गरेको छ।