सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति , शान्तिपूर्ण तरिकाले सबै समस्याको समाधान

maitrinews

 

काठमाडौँ । सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिको पहिलो बुँदामा मुलुकको अखण्डता स्वीकार गरेका छन् भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने भएको छ ।
सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच संघीय लोकतान्त्रिक स्वतन्त्र, स्वाधीन सार्वभौमसत्ता अभिभाज्य राष्ट्र हो भन्ने स्वीकार गर्ने सहमति भएको छ । तराइ मधेसमा देखिएका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने सहमति पनि भएको छ ।

त्यस्तै स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्ताले यसअघि प्रचार प्रसारका क्रममा बाँडेका किताब, प्रचार र झण्डालाई भविष्यमा कारबाहीको विषय नबनाउने र आगामी दिनमा यस्ता प्रचार सामग्री वितरण नगर्ने पनि सहमति भएको छ ।
स्वतन्त्र मधेस आन्दोलनका नेता कार्यकर्ता र समर्थकलाई नेपालभित्र बसोबास गर्न जीविकोपार्जन गर्न, संघ संघठन र मूलधारको पार्टी खोल्न राज्यबाट कुनै कारबाही नगर्ने सहमति भएको छ । हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेस गठबन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवलाई राज्यका तर्फबाट उचित क्षतिपूर्ति र एक जनालालाई रोजगारी दिने सहमति पनि भएको छ ।
स्वतन्त्र मधेस गठबन्धनको आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको जिम्मा सरकारले लिने पनि सहमति भएको छ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली र स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतले समारोहलाई सम्बोधन गर्नुभयो । उहाँहरुले शान्तिपूर्ण तरिकाले सबै समस्याको समधान खोजिने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले असाधारण निर्णय क्षमता देखाएको भन्दै सीके राउतको प्रशंसा गर्नुभयो । सरकारसँग ११ बुँदे सहमति गरेर राउतले असाधारण निर्णय क्षमता देखाएको उहाँले बताउनुभयो

यस्तो असाधारण निर्णय क्षमता यसअघि पुष्पकमल दाहाल प्रचण्डमा मात्र देखेको उहाँले बताउनुभयो । प्रचण्डले हतियारको राजनीतिबाट चुनावमा सहभागी भएर संविधान बनाउने कामको एक ढंगले अगुवाइ गरी त्यसपछि एमाले र माओवादीबीच एकता गर्नु ठूलो निर्णय क्षमता भएको ओलीले बताउनुभयो । ‘जो सुकैले, सानो हिम्मतकोले सक्दैन । सीके राउतजीमा पनि असाधारण निर्णय क्षमता देखेँ’ उहाँले भन्नुभयो।

सीके राउत पढेलेखेको विद्वान र वैज्ञानिक रहेको भन्दै ओलीले कता कता बाटो बिराउँदा बिराउँदै बिग्रने हो कि भन्ने डर आफूलाई रहेको बताउँदै भन्नुभयो, ‘तर खुशी लाग्यो । टेक्नोक्र्याट मात्र होइन थिंकर पनि हो सीके राउत ।’नेता राउतले आफूले कहिल्यै पनि हिंसाको बाटोलाई स्थान नदिइएको बताउँदै शान्तिपूर्ण बाटोबाटै मुलुकका सबै समस्याको समाधान खोजिनुपर्नेमा जोड दिनुभयो ।

विखण्डनवादी मुद्धा उठाएर लामो समयदेखि आन्दोलन गर्दै आउनुभएका सिके राउतले राज्यसँग सम्झौता गर्दै अब विखण्डनको मुद्धा नउठाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रियसभा गृहमा एक कार्यक्रममा सहभागी हुँदै राउतले आन्दोलन सुरक्षित अबतरण भएको दावी गर्नुभयो । ‘राजयले आन्दोलनको सम्वेदनालाई बुझिदियो । आन्दोलन कुनै पनि चरणमा विष्फोट हुने खतरा थियो । हामी बुद्धका सन्तान हौँ । अहिंसा हाम्रो रगतमा बसेको छ । शान्ति शरीरमा अन्तरनिहित भएर बसेको,’ उहाँले भन्नुभयो, ‘हामीले आन्दोलन सुरु गर्दा बुद्ध र गान्धीलाई सम्झेर सुरु गरेका थियौँ । हाम्रा माग केही सम्वोधन भए केही हुन सकेनन् । आन्दोलनका क्रममा हाम्रा सय–कडौँ कार्यकता पक्राउ परे, घाइते भए । म दुई दर्जन भन्दा बढी पटक म पक्राउ परे । मलाई धेरै पटक पक्राउ गर्दा म नराम्ररी घाइते भएँ । यद्यपि, शान्तिपूर्ण मार्गप्रति हाम्रो आस्था कहिल्यै पनि डगमगाएनौँ । त्यसैको परिणाम हो यो ।’

राउतले राज्यद्वार दमन भए पनि राज्यप्रति कहिल्यै प्रतिशोध नसाँधेको पनि बताउनुभयो । ‘हाम्रो आन्दोलनमा कतै पनि दमन हुने वा गोलि चलाउने काम भएन । राज्य, प्रहरी जनता सबै धन्यवादका पात्र भएका छन् । हाम्रा बारेमा मिडिया र चिया गफमा हामीबीच भ्रम फैलाउने काम भैरह्यो । पहाडमा महाभूकम्प जाँदा तराईमा उपबासको अभियान चलायौँ,’ उहाँले भन्नुभयो, ‘अब समूदाय–समूदायमा लडाउनेहरुलाई स्थान नदिऔँ । हामीले आन्दोलन गरेको पनि अधिकारका लागि होइन । अधिकार तराई, पहाड हिमाल सबैतिरका जनतालाई चाहिन्छ । हिंसा र दमन गरे पनि हामी हिंसात्मक हुँदैनौँ भनेर हामीले अडान लियौँ, हाम्रा कार्यकर्ताले अडान लिए । त्यहि भएर अहिले शान्तिपूर्ण वार्ता भयो । हाम्रो एउटा मात्र माग भनेको जनतामा रहेको सार्वभौमसत्तालाई स्वीकार गर्दै राज्यले हामीलाई स्थान थिएको छ । यो राज्यको पनि जित हो र जनताको पनि जित हो । अब हामीले हिंसात्म आन्दोलन गरेर समय खेर फाल्ने समय छैन । हामी अब जनमत प्रयोग गरेर हामी हाम्रा अधिकार हाँसिल गर्ने छौँ ।’

११ बुँदे सहमति

१) संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अभिवाज्य राष्ट्र हो। नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डता रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो।

२) राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्येश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्नेमा हामी दृढ छौं। नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराइमधेश लगायत देशका विभिन्न स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं।

३) लोकतन्त्रमा मतभेदहरु हुन सक्छन्। तर, तिनीहरुप्रति राज्य, राजनीतिक दल र आम नागरिक सहिष्णु हुनुपर्छ। त्यस्ता मतभेदहरुको समाधान पनि लोकतान्त्रिक विधिबाटै गरिनुपर्छ भन्ने मान्यतामा दृढ छौं।

४) सामाजिक न्याय, समानता र सदभाव हाम्रो साझा उद्धेश्य हो। हामी तराइमधेश लगायत समग्र राष्ट्रका जनतालाई राजनीतिक आर्थिक तथा सामाजिक दृष्टिले अधिकार सम्पन्न तुल्याएर तराइमधेश लगायत समग्र देशको विकासलाई दु्रत गतिमा अघि बढाउन प्रतिबद्ध छौं। त्यसैगरी, संविधान प्रदत्त नेपाली जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वसानको अधिकारलाई आत्मसात गर्न र तराइमधेश लगायत समग्र देशमा शुसासन कायम गर्दै समनता र समाजवाद कायम गर्न प्रतिबद्ध छौं।

५) स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरुलगायतमाथि लगाइएका राज्य विरुद्धका अपराध लगायत सबै राजनीतिक मुद्धाहरु फिर्ता लिइनेछ। कारागारमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई निशर्त रिहा गरिने छ।

६) स्वतन्त्र मधेश गठबन्धन तथा यसका नेता कार्यकर्ताहरुद्वारा यसअघि तयार पारिएका र पहिले प्रचलनमा रहेका किताब, पर्चा, पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाईन सामग्री आदिलाई भविष्यमा कारबाहीको विषय बनाइने छैन। आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकुलका प्रचार सामग्रीहरु उत्पादन र वितरण गरिने छैन।

७) स्वतन्त्र मधेश गठबन्धनका नेता, कार्यकर्ता तथा समर्थकहरुलाई नेपालको संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै नेपालभित्र बसोबास गर्न, जीविकोपार्जन गर्न, संघसंस्था वा पार्टी खोल्न वा संगठित भएर मूलधारको राजनीति गर्न कुनै किसिमको अवरोध खडा गरिने छैन। र, त्यस्ता अधिकार प्रयोग गरेबापत राज्यद्वारा कुनै किसिमको कारबाही गरिनेछैन।

८) २०७५ भदौ १५ गते नेपाल प्रहरीको हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेश गठबन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवको परिवारलाई राज्यद्वारा उचित क्षतिपूर्तिका साथै परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गरिने छ।

९) स्वतन्त्र मधेश गठबन्धनको आयोजनमा सञ्चालित आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको जिम्मा सरकारले लिने छ।

१०) स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्तामा रहेको ज्ञान, सीप र सामथ्र्यलाई तराइमधेश लगायत समग्र देशका जनता र राष्ट्रको शान्तिपूर्ण एवम लोकतान्त्रिक विकास र खुशहालीको लागि नयाँ उचाइका साथ सदुपयोग गर्न र सरकारका तर्फबाट स्वतन्त्र मधेश गठबन्धनलाई एक लोकतान्त्रिक राजनीतिक शक्तिका रुपमा व्यवहार गर्न सहमत भएका छौं।

११) यो सहमति आजैका मितिबाट लागु हुनेछ।

नेपाल सरकारका प्रतिनिधि
रामबहादुर थापा, गृहमन्त्री

स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट
चन्द्रकान्त (सिके) राउत, संयोजक