७५ फिट अग्लो ‘नेपाल आमाको मूर्ति’ निर्माण हुँदै

maitrinews

कञ्चनपुर ।     कञ्चनपुरको उत्तरी चुरे फेद भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्य सुरु भएको छ । भीमदत्त नगरपालिका–८ तिलाचौर भम्केनी धाममा शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचनप्रसाद भट्टले मूर्ति निर्माणको शिलान्याय गरे ।

शिलान्यास गर्दै मुख्यमन्त्री भट्टले भम्केनीलाई धार्मिक पर्यटकिय गन्तव्य बनाउनुपर्नेमा जोड दिए । प्रदेश सरकारका तर्फबाट धार्मिक पर्यटकिय क्षेत्रको विकासका लागि आवश्यक पहल गर्ने बताए ।

महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनी धामले मूर्ति निर्माण गर्न लागेको हो । सो धामका अध्यक्ष हरि रावलले भम्केनीलाई अन्तराष्ट्रिय धार्मिक पर्यटकिय गन्तव्य बनाइने बताए । उनका अनुसार गुरु योजना अनुसार धामले ७ हेक्टर वनलाई धार्मिक वनको रुपमा परिणत गरेको छ ।

मूर्ति निर्माणका लागि भ्याली कन्स्ट्रक्शन प्रालिले १० करोड ८१ लाख रुपैयाँ लागतमा ठेक्का लिएको अध्यक्ष रावलले बताए । समितिसंग दुई करोड मौजुदा र भीमदत्त नगरपालिकाले एक करोड रकम दिने घोषणा गरेको बताए ।

अष्टधातुबाट बनाइने नेपाल आमाको मूर्ति निर्माणका लागि २५ टन तामा आवश्यक पर्नेछ । साढे तीन वर्षमा मुर्ति निर्माण हुनेछ । तर निर्माण कम्पनीले भने २ वर्ष ९ महिनामा मूर्ति निर्माण गरिसक्ने योजना बनाएको छ । मूर्ति निर्माणका लागि विभिन्न प्रकृतिका १२ हजार श्रमिक लाग्नेछन् ।

उनका अनुसार तीन रोपनी जमिन क्षेत्रफलमा मूर्ति बनाइने छ । मूर्तिको दायाबाँया गाई र बागको मूर्ति, नेपालको नक्सा, नेपालका राष्ट्रिय प्रतिक चिह्न र नेपालको सबै तिर्थाटनको प्रतिनिधित्व हुने संग्राहलय निर्माण गरिने छ ।

सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकास रावल र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले पनि भम्केनी धाममा मूर्ति निर्माणका लागि आ–आफ्नो क्षेत्रबाट पहल गर्ने बताए ।

चार वर्ष अघि जगतगुरु मोहनशरण देवाचार्यले भम्केनीदेखि नेपाल आमाको मूर्ति निर्माणका लागि महाकालीदेखि मेचीसम्म पैदल यात्रा गरेका थिए । जगत गुरुको महाकाली–मेची पैदल यात्राका दौरानमा एक करोड, ८४ लाख, ७२ हजार ४ रुपैयाँ संकलन गरिएको थियो ।

जगत गुरु बालसन्त मोहनशरण देवाचार्यले नेपाल जोड्ने अभियान अन्र्तरगत भम्केनीमा मूर्ति निर्माण हुन लागेको बताए ।