संसदीय समितिको स्वीकृतिबिनै विवादित अन्सारी मुस्लिम आयोगको अध्यक्ष बन्ने

maitrinews

 

काठमाडौँ । संवैधानिक परिषद्ले मुस्लिम आयोगको अध्यक्षमा सिफारिस गरेका समिम मियाँ अन्सारी संसदीय सुनुवाइ समितिबाट स्वीकृत नभएरै अध्यक्ष बन्ने भएका छन्।

समितिले अन्सारीको सुनुवाइ गरे पनि निर्णय गरेको छैन। सुनुवाइ प्रक्रिया सुरू भएको ४५ दिनभित्र पूरा नभए स्वतस् सिफारिस गरिएका व्यक्ति त्यस्तो नियुक्तीका लागि योग्य हुने व्यवस्था संघीय संसदको संयुक्त बैठक र समितिसम्बन्धी नियमावलीले गरेको छ।

माघ ६ गते संवैधानिक परिषद्ले पाँच संवैधानिक आयोगमा अध्यक्ष सिफारिस गरको थियो। लगत्तै माघ २० गते सुनुवाइ समितिले उनीहरूका नाममा उजुरी आह्वान गरेको थियो।

समितिमा अन्सारीको नाममा मात्र नक्कली नागरिकता र सर्टिफिकेटको उजुरी परेको थियो।

अन्सारीसँगै सिफारिसमा परेका प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, समावेशी आयोगका अध्यक्ष शान्तराम सुवेदी, मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्त र थारू आयोगमा विष्णुकुमार चौधरीको नाम भने समितिले अनुमोदन गरेको थियो।

समितिले बहुमतले सिफारिस भएका नाम अनुमोदन गर्न सक्छ भने अस्वीकृत गर्न दुई तिहाइ मत चाहिन्छ। चारै जनाको नाम अनुमोदन गर्दा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले भने बैठक बहिष्कार गरेका थिए।