विद्यार्थी मृत्यको घटनामा अतिरञ्जित प्रचारबाजी भयो : ब्रिटिश कलेज

maitrinews

काठमाडौँ । शैक्षिक भ्रमणका क्रममा दुबईको समुद्रमा डुबेर विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर एकपक्षीय रूपमा गरिएको समाचार सम्प्रेषणप्रति द ब्रिटिश कलेजले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
थापाथली, काठमाडौँस्थित कलेजले आज एक विज्ञप्ति जारी गर्दै भ्रमणका क्रममा समुद्रमा डुबेर मृत्यु भएका विद्यार्थी गौरव श्रेष्ठको परिवार मिडियामा अतिरञ्जित तवरले प्रचारबाजीमा उत्रेको दाबी गरेको हो ।
कलेजले आफ्ना विद्यार्थीहरूलाई विभिन्न मुलुकहरूमा अन्तर्राष्ट्रिय शैक्षिक भ्रमण गराउँदै आएको र उक्त भ्रमण विद्यार्थी र अभिभावकको स्वीकृतिमै गरिने विज्ञप्तिमा जनाइएको छ ।
यसै सन्दर्भमा गत १२ फेब्रुअरीमा २६ जना विद्यार्थीको समूह दुबई भ्रमणमा गएको र सोही क्रममा विद्यार्थी गौरव श्रेष्ठको समुद्रमा पौडि खेल्दा उनको ज्यान गएको थियो । समुद्रमा पौडि खेल्न सख्त मनाही गर्दागर्दै श्रेष्ठ अटेर गरि पौडिन गएको र सोही कारण उनको ज्यान गएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विद्यार्थीलाई कलेजले लैजाने शैक्षिक भ्रमण अनिवार्य नभई ईच्छुक विद्यार्थीहरूको लागि मात्रै भएको समेत कलेजले जनाएको छ ।
विद्यार्थीको मृत्युपश्चात उनको शवलाई छिटोभन्दा छिटो स्वदेश ल्याउन कलेजले निकै ठूलो प्रयत्न गरेको र विद्यार्थीको मृत्युले कलेज परिवार समेत अत्यन्त दुःखी भएको बताउँदै अनर्गल प्रचारबाजी नगर्न मृतक विद्यार्थीको परिवारलाई विज्ञप्तिमा आग्रह गरिएको छ ।
विद्यार्थीको मृत्यु अन्य कारणले भएको भए सम्बन्धित व्यक्तिहरू दुबई प्रहरीको कार्वाहीको दायरामा आइसक्ने र सम्बन्धित व्यक्तिहरू नेपाल आउने अनुमति पनि रोकिने जानकारी समेत विज्ञप्तिमा गराइएको छ ।