दैलेखमा विप्लव समूहको आतंकः सबै स्थानीय तहका प्रमुखसँग चन्दा माग

maitrinews

 

दैलेख । विप्लव समूहले धम्क्याउँदै चन्दा तथा पदबाट राजीनामा दिन दबाब दिएपछि दैलेखका स्थानीय सरकार प्रमुखहरू आतंकित भएका छन्।
विप्लव समूहका नेता कार्यकर्ताले दैलेखका ११ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरूलाई समेत पत्र पठाएर तथा फोन गरेर यस्तो दबाब दिएको हो।

चन्दा माग्नुका साथै आफूहरूलाई पदबाट राजीनामा दिन दबाब दिइरहेको भन्दै पीडित जनप्रतिनिधिहरूले कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहलाई सुरक्षा माग गरेपछि यो कुरा बाहिर आएको हो।

दैलेखका स्थानीय सरकारका प्रमुखहरुलाई ढुक्क भएर बस्न आग्रह गर्दै प्रदेश प्रहरी प्रमुख शाहले जनप्रतिनिधिहरूलाई ढुक्कसँग काम गर्न आग्रह गर्दै अराजक गतिविधि गर्नेलाई प्रहरीले विशेष ढंगले खोजी गरिरहेको बताएका छन्।

मुलुक समृद्धितर्फ अगाडि बढ्ने महान् अभियानलाई कसैले पनि अवरोध गर्न नहुने र संविधानविपरीत कार्य गर्ने सबैलाई कारबाही गर्न सरकार तयार रहेको उनले बताए। विप्लव समूहको आतंकलाई सबै मिलेर निस्तेज पार्न सकिने प्रदेश प्रहरी प्रमुख शाहको भनाइ छ।

संविधानविपरीत विप्लव समूह बम विस्फोट, हत्याजस्ता गतिविधिमा सक्रिय रहेको उनले उल्लेख गरे। संविधानले निषेध गरेका कुरा गर्ने राजनीतिक समूह नभएर अपाराधिक समूह भएको उल्लेख गर्दै उनले यसविरुद्ध कडा कदम चालिने उनले बताए।