मकवानपुरगढीमा जन्ती बस दुर्घटना: दुईको मृत्यु, १८ जना घाइते

maitrinews

हेटौंडा ।   भक्तपुरबाट हेटौंडा–५ पिप्लेमा विवाहका लागि जन्ती लिएर आउँदै गरेको बस दुर्घटना भएको छ । कान्तिलोकपथ अन्तर्गत पर्ने मकवानपुरगढी गाउँपालिका–२ धरमपानीमा सोमबार दिउँसो २ बजे बा४ख २२१७ नम्बरको बस दुर्घटना हुँदा २ को मत्यु र १८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनास्थलमा मृत्यु हुनेमा काभ्रे पाँचखाल लामिडाँडाका ३५ बर्षीय नबराज परियार र नुवाकोट घर भएका २५ बर्षीय बिका धमला रहेका छन् ।

घाइते मध्ये १२ जना हेटौंडाको चुरेहिल अस्पताल र ६ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । जन्ती लिएर आएको तीन वटा बस मध्ये अन्तिमको बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको अवस्थामा फेला परेको हो । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।