विश्व पानी दिवस नारामा सीमित हुँदै

maitrinews

 

काठमाडौं । विश्व पानी दिवस ‘कोही पछि नछुटुन्’ भन्ने नाराका साथ मनाइदैछ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले मार्च २२ तारिखलाई विश्व पानी दिवसको रुपमा घोषणा गरेयता हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । पानी मानव जीवनको अधिकार भएकाले कोही पनि यसका लागि पछि नपरुन् र नछुटुन् भन्ने उद्धेश्यले यसपाली पानी दिवसको नारा तय गरिएको हो । जल सप्ताह अन्र्तगत बिश्व पानी दिवस मनाउने गरिएको छ ।

पानी र मौसमबीचको घनिष्ट सम्बन्ध भएकाले १० वर्ष यता नेपालमा राष्ट्रिय जल सप्ताह मनाउन थालिएको हो । सप्ताहका क्रममा मार्च २२ मा पानी दिवस र २३ मा मौसम दिवस मनाउने गरिएको छ ।

यसपाली कोही पछि नछुटुन् भन्ने नारा सहित विश्व पानी दिवस र मेरो सुर्य मेरो पृथ्वी र हाम्रो मौसम भन्ने नारा सहित विश्व मौसम दिवस मनाइँदैछ ।

जल तथा मौसम मानव जीवनलाई प्रत्यक्ष र तत्काल असर पार्ने भएकाले यो धेरै नै महत्वपुर्ण छ । पानी हाम्रो जिवन हो र शुद्ध पिउने पानी हाम्रो अधिकार र कर्तब्य हो । आकाशबाट वादलमार्फत, खोला खहरामा, मुलवाट, हिँउबाट, पत्थरको कन्दराबाट , कल अर्थात हातेपम्पवाट, पानीघट्टमा, पोखरी अनि कुँवाहरुमा पानी उपलब्ध हुने गरेको छ ।

वर्षामा आएका कुल पानीको ७० प्रतिशत खेर जाँदै
नेपालमा पलब्ध भएको कुल पानीमा ७० प्रतिशत पानी सदुपयोग गर्न नसक्दा त्यसै खेर जाने गरेको छ ।
नेपालमा प्रतिवर्ष प्रतिव्यक्ति सात हजार घनमिटर बराबरको पानी उपलब्ध भए पनि उचित सदुपयोग हुन नसक्दा त्यसले कुनै सार्थक प्रभाव पार्न नसकेको पानीबिज्ञहरुको भनाई छ ।

वर्षाको समयमा अत्यधिक मात्रामा वर्षा भए पनि त्यस्तो पानी जोगाएर राख्न सकिएको छैन । प्रति वर्ष औषतमा १५ सय ३० मिमि वर्षा हुने गरेपनि त्यसको सदुपयोग हुन्छ । जसमा २ सय २५ घनमिटर पानी उपलब्ध हुन्छ । वर्षामा आएका कुल पानीको ६०–७० प्रतिशत पानी खेर जाने गरेका छन् । यो खेर गएको पानी मात्रै सदुपयोग गर्न सकेपनि त्यसले पानीको ठुलो समस्या समाधान हुनेतर्फ पानीबिज्ञहरुले बताएका छन् ।

सदुपयोग भएको पानीमध्ये सिँचाइ, ऊर्जा, खानेपानी तथा औद्योगिक प्रयोगका लागि मात्र उपलब्ध छ । उपलब्ध पानीमध्ये स्वच्छ र पिउनयोग्य पानीको मात्रा भने कम रहेको छ । हिमाली तथा पहाडी क्षेत्रमा उपलब्ध भएको पानी पिउन योग्य भए पनि तराई तथा समथर क्षेत्रमा उपलब्ध पानीको गुणस्तर कम भेटिएको पानी बिज्ञहरु बताउछन । सन २०१४ को तथ्यांक अनुसार नेपालमा औसत १५ सय मिलिमिटर पानी पर्ने गरेको छ ।

दिगो विकास लक्ष्य नम्बर ६ मा सन् २०३० सम्ममा सबैमा पानी पुर्याउने लक्ष्य
दिगो बिकास लक्ष्यको ६ नम्बरमा सन् २०३० सम्ममा सबैमा पानी पुर्याउने लक्ष्य लिइएको छ । संसारका अरबौ मानिसहरु अझै पनि सफा पिउने पानीबाट बञ्चित भएका छन ।उनीहरु स्वच्छ र सफा पानी पिउनका लागि घरमै , बिद्यालयमा, कार्यस्थल , खेत र कारखानामा सघर्ष गरिरहेका छन् ।

बिशेषगरी सिमान्तकृत समुह महिला,बालबालिका , आदिबासी जनजाति , दलित , अपांगता भएका , कैदी लगायतका पहुच नभएकामा सफा रस स्वच्छ पानी को पहुँचका लागि बिभेद खेप्न बाध्य रहेका छन । त्यसैले ‘कोही पछि नछुटुन ’ भन्ने नारा तय गरी सबैमा पानीको सहज र सुरक्षित पहँुच पुरयाउन यो दिवस बिश्वभर मनाइदैछ । अबको चुनौती भनेको पानीको संकट र अभाव बिश्वमै बढदै गएको छ ।

स्वच्छ पिउने पानीको अभावमा बस्ती खाली हुँदै
आज वढ्दो शहरीकरणका कारण काठमाडौ उपत्यकामा रहेका ढुंगेधारा र पोखरीहरुमा पानी सुक्दै जान थालेका छन । देशका अधिकाश स्थानका पहाडी क्षेत्रमा मुलका पानी सुक्न थालेका छन् । विश्वब्यापी रुपमा वढ्दो तापक्रम अर्थात ग्लोवल वार्मिगंको असरले गर्दा पग्लिएका हिमाल अनि वढ्दो समुन्द्री सतहले पानी प्रतिको मानव संवेदनशीलताको माग गरेको छ ।
नेपालमा काठमाडौं उपत्यका लगायत शहरी क्षेत्रका बासिन्दाले पानीको निकै अभाव खेप्नुपरेको छ । ग्रामिण पहाडी तथा हिमाली क्षेत्रमा पनि पानीको अभावले बसाईसराई गर्ने र बस्ति नै खाली हुन थालेका छन् ।

रामेछापको उच्च पहाडी क्षेत्र, काभ्रेको तिमाल, पाल्पा, मुस्ताङका कतिपय स्थानमा पानीको अभावले बस्ती नै खाली हुन थालेको छ । सरकारले काभ्रे, रामेछाप लगायतका केही स्थानलाई पानी संकटग्रस्त क्षेत्र घोषणा गरेको बर्षौ भएपनि त्यहा पानीको उपलब्धतामा खासै प्रयास भएको देखिदैन । सन् २०१७ सम्म आधारभुत स्तरको पानी सबै नेपालीमा पुर्याउने लक्ष्य पुरा नभएपछि थप नया लक्ष्य बनाउँदैछ ।

विश्वभर बढ्दो जनसंख्यासंगै आउँदा दिनमा स्वच्छ र सफा पानीको माग अझै बढ्दै जाने र यो वृद्धिले सबै क्षेत्रमा ठूलो चुनौती निम्त्याउन सक्ने भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । राष्ट्रसंघका अनुसार विश्वभर १ अर्ब ३० करोड मानिस बिजुलीको पहुँचमा छैनन् भने ७६ करोड भन्दा बढी मानिसले पानीको सुधारिएको श्रोतको उपयोग गर्न पाएका छैनन् ।

जलश्रोतको धनी भनेर चिनिने नेपालमा जलश्रोतको सही सदुपयोग हुन नसक्दा न त पानीको अभाव हट्न सकेको छ, न त पर्याप्त उर्जा उत्पादन भएर सबैमा यसको पहुँच नै पुग्न सकेको छ ।

संसारको कुल ईन्धनको ८ प्रतिशत ईन्धन खपत भने उपभोक्तासमक्ष शुद्ध पिउने पानीलाई पम्प गर्दै विभिन्न पाईप र नलका माध्यमवाट पूर्याउन लाग्ने रहेछ । २१औँ शताब्दीसम्म आईपुग्दा पनि शुद्ध पिउने पानीको समान वितरण संसारको लागी ठूलो चुनौती नै रहेको छ ।

हिन्दु सस्कारमा पनि पञ्चतत्वको रुपमा जलतत्वको अत्यन्त महत्व छ । मेलम्चीको पानीको वृतान्त सुन्दासुन्दै तीनवटा पुस्ता आइसकेर पनि पानी आइपुगेको छैन । यसको सट्टामा उडेका धुलोका बादल र खाल्डाका गहिराईले सफा पानीकोे सहज उपलब्धताको कठिनाई ब्याख्या गरेको छ ।

अब पानीका मुहान तथा भुमिगत पानी सुक्दै गएकाले आँउदा पुस्तालाई पानीको किफायती प्रयोग, महत्व अनि संरक्षणका पाठहरु सिकाउन जरुरी छ । खुल्ला छाडिएका धारा बन्द गर्नु, चुहावट रोक्नु, असंरक्षीत सिमसारहरुको सुरक्षा गर्नु, बृक्षारोपण गर्नु, भुसंरक्षण गर्नु अनि खोलानालाको सबर्धन गर्नु तथा आकाशे पानीको सक्दो प्रयोग गरेर पानीको माग पुरा गर्न सकिने पानी बिज्ञहरुको सुझाव छ ।

विभिन्न नदीनाला र तिनका पानी प्रयोगका असमान र अब्यवहारीक सन्धी गरेको नेपालको विभिन्न कालखण्डका नेतृत्वले जल कुटनितीको सिद्धान्त अनि मान्यतालाई आत्मसात गर्न जरुरी रहेको पुर्व जलस्रोतमन्त्री दीपक ज्ञवालीले बताए ।

अबको संसार पानीमा अड्केको छ, पानी नै अबको विश्वको आवश्यक्ता हो ।नेपाली जलश्रोतहरुनै आँउदा पुस्ताको सम्पत्ति हुन् तर त्यसकालागी हामीले यसको भौतिक, राजनैतिक र जैविक संरक्षण गर्न जरुरी देखिन्छ ।