प्रदेश नम्बर पाँचको राजधानीबाट प्रधानमन्त्रीको उद्घोष– ‘दुखी भएर बस्ने दिनको समाप्त भयो’

Mohan Bastola

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालीले दुखी भएर बस्ने दिनको समाप्त भएको बताउनुभएको छ । आज बुटबल पुग्नुभएका उहाँले अब नेपालीको खुसी र सुखी हुने दिन आएको बताउनुभयो । पूर्वपश्चिम राजमार्ग अन्र्तगत बुटबल नारायणगढ सडक खण्ड विस्तारको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार विकास निर्माणमा सरकार गम्भीर भएर लागेको पनि बताउनुभयो । यो राजमार्गलाई अन्र्तराष्ट्रिय स्तरको मापदण्ड अनुसार पु¥याउन सडक विस्तार गरिएको हो ।

सरकारले नेपाल र नेपाली जनताको हीत हुने गरी काम गरेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले सरकारविरुद्ध भएका गलत प्रचार र भ्रममा नपर्न आम नेपालीलाई आग्रह गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मूलुकमा अब विखण्डन र अशान्तिको अवस्था नरहेको प्रष्ट पार्नुभयो । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई ध्वंसात्मक गतिविधि रोक्न पटकपटक आग्रह गरेपनि नमानेपछि त्यस्ता गतिविधिलाई निषेध गरेको स्पष्ट पार्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको विकासले गति लिने ठोकुवा गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश ५ इन्चार्जसमेत रहनुभएका मुख्यमन्त्री शंकर पोखरेलले वर्तमान ओली नेतृत्वको संघीय सरकारले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्नेमा आफू विश्वस्त भएको जिकिर गर्नुभयो ।
प्रदेश ५ को अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री पोखरेलले प्रधानमन्त्री ओलीले मुलुकको नेतृत्व गरेपछि आर्थिक विकास दोब्बर प्रगति भएको तथ्यांक प्रस्तुत गर्नुभयो ।
त्यसै गरी नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले रुपन्देहीसँगै समग्र प्रदेश पाँचको विकासको जिम्मेवारी वर्तमान सरकारले लिने प्रष्ट पार्नुभयो । उहाँले प्रदेश र संघ दुवैमा कम्युनिस्ट नेतृत्वको सरकार रहेको संकेत गर्दै वर्तमान कम्युनिस्ट नेतृत्वको पाँच वर्षे कार्यकाल सकिँदा विकासका कुनै पनि काम अधुरा नरहने ठोकुवासमेत गर्नुभयो ।

कार्यक्रममा सहभागि हुन पुग्नुभएका भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले वर्तमान सरकारले नेतृत्व सम्हालेपछि सडक पूर्वाधारको कामले तीब्रता लिएको बताउनुभयो । उहाँले पूर्वपश्चिम विद्युतीय रेलमार्गको डीपीआर सम्पन्न भएको पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आज शिलान्यास गरेको पूर्वपश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडकखण्डको १ सय १४ किलोमिटर खण्डमध्ये बस्ती नभएको ठाउँमा ४ लेन र बस्ती भएको ठाउँमा सर्भिसलेनसहित थप चार लेन बन्ने भएको छ । विसं २०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेको सडक ५७ बर्षपछि नेपाल कम्युनिस्ट पार्टी नेकपाको नेतृत्वमा सरकार बनेका बेला फराकिलो हुन लागेको हो ।